नेपाली पत्रकारिताको यात्रा २००७ सालदेखि जोड्यो भने ६७ वर्ष हुन आउँछ । यति लामो अवधि गुज्रे अनुसार आज पत्रकारिता परिपक्व हुनुपर्ने हो । तर, भएन । मेरो मुख्य गुनासो यही कुरामा हो।
मैले पत्रकारिता गर्दा पत्रकारिता नपढेका मान्छेहरुले पत्रकारिता गर्थे । तर पनि ‘ब्लन्डर मिस्टेक’ अत्यन्त कम हुन्थ्यो । मिस्टेक त हुन्थ्यो, ब्लन्डर हुँदैनथ्यो । अहिले त पत्रकारिता नै पढेका मान्छेहरु पत्रकारिता कर्ममा छन् । तर, पत्रकारिता भने हलुका हुँदै गयो । नेपाली पत्रकारिताको इतिहास, वर्तमान र अहिलेको एकेडेमिक पाटो हेर्दा यो परिपक्व, शुद्ध, चोखो, गल्तीरहित हुनुपर्ने हो । तर, किन भइरहेको छैन ? यो अजीवको कुरा छ।
२०३६ सालको जनमत संग्रह अगाडि राष्ट्रिय पञ्चायतको रिपोर्टिङ गर्ने क्रममा मैले एउटा समाचार लेखेको थिएँ, ‘यस वर्षको बजेट पर्सि आउने’ भनेर । बजेट कति रकमको आउने भनेर समाचारमा उल्लेख थिएन । गोप्यता भंग भयो भनेर राष्ट्रिय पञ्चायतमा चर्को आवाज उठ्यो । मलाई कारबाही गर्नेसम्मको कुरा आयो । तर, आखिरमा कारबाही चाहिँ गरेनन्।
भन्नाले, बजेट फलानो दिन आउँछ समेत भन्न नमिल्ने त्यस्तो साँघुरो परिवेशमा हामीले काम गर्नुपर्थ्यो । आज त पत्रकारले स्वतन्त्र रुपमा समाचार लेख्न सक्छन् । तर, स्वतन्त्रता कति ठाउँमा स्वच्छन्दतामा परिणत भयो । स्वतन्त्रता भनेको त स्वच्छन्दता होइन नि ! संसारमा जति विषयवस्तु छन्, हरेकको आफ्नो परिधि र आचरण हुन्छ । त्यसलाई परिपूर्ण गर्ने दायित्वमा ध्यान गएको छैन।
कुनै पनि घटना/दुर्घटनाबारे पूर्णरुपमा पुष्टि नभई समाचार दिन मिल्दैन, पत्रकारिताको यो विश्वव्यापी नियम नै हो । तर, हाम्रा पत्रकार साथीहरुलाई यति हतारोले छोप्छ, पुष्टि र विश्स्त नभएको कुरामा पनि बेलिबिस्तार लगाएर लेखेको देखिन्छ।
म राससमा काम गर्दाको कुरा हो, भारतमा इन्दिरा गान्धीलाई गोली हानिएको खबर आयो । एएफपीबाट जम्मा एक वाक्यको समाचार आयो । राजीव गान्धी दिल्ली बाहिर भएकाले उनी फर्केपछि मात्र मृत्युको घोषणा हुने भयो।
घटना/दुर्घटनाबारे महत्वपूर्ण समाचार सुरुमै बिस्तारमा आउँदैन कन्फर्म भएपछि मात्र विस्तारमा समाचार दिने भन्ने अन्तर्राष्ट्रिय नियम रै’छ । पत्रकारितामा मेरा अग्रजहरुले पनि मलाई यही सिकाउनुभयो । यो कुरा थाहा पाएर पनि आज सञ्चार माध्यमहरुले पालना गरेको पाइँदैन।
राससमै काम गर्दा मलाई एकचोटि कस्तो अप्ठेरो परेको छ भने, त्यो बेलाका टेलिकम्युनिकेसनका प्रमुख हेरम्बप्रसाद उपाध्यायको दिल्लीमा निधन भएको थियो । उनको शव काठमाडौं ल्याएर अस्पतालमा राखेको पनि मलाई थाहा थियो । तर, निधनको पुष्टि गर्न त्यसबेला मैले तीन–चार घण्टासम्म कुर्नुपरेको थियो।
घटनाबारे कन्फर्म भएर मात्र समाचार दिने धैर्य आजको समयमा छैन । साथीहरु एकदम हडबड गर्छन् । सबभन्दा डिटेलिङ दिँदा राम्रो हुन्छ भन्ठान्छन् क्यार, पुष्टि नभईकन सबै कुरा हाल्न हतारो गर्छन्।
मैले पत्रकारिता सुरु गर्दा मेरा अग्रजहरुले तथ्यांकमा एकदम प्रस्ट हुन सिकाउनुभयो । तपाईं सय रुपैयाँको नोट लिएर पसलमा जानुभयो भने दस–दस रुपैयाँ दरको दस वटा नोट आउँछ भन्ने कुरा कन्फर्म छ । हजारको नोट लिएर जाँदा सय–सयको दस वटा नोट आउँछ । हाम्रो समाचार ठ्याक्कै त्यही नै हुनुपर्छ । पूर्ण सत्य नै हुनुपर्छ।
म आंशिक सत्यले पत्रकारिता टिक्दैन भन्ने मान्यता राख्ने मान्छे हुँ । अहिलेका साथीहरु भने हडबडाउँछन् । यसको अर्थ सत्यहरु आउँदै–आउँदैनन् भन्न खोजेको हैन । सत्यहरु पनि आउँछन्, तर आंशिक सत्य धेरै आउँछन्।
पहिलो कुरा त सम्पादकीय स्वतन्त्रता हुनुपर्छ । स्वतन्त्रता माग्नुपर्छ र नभए म काम गर्दिनँ भनेर छोड्न सक्नुपर्छ । अर्को कुरा, सञ्चार माध्यमले पूर्ण सत्य दिन खोज्नुपर्छ । कहिले–कहिले पुष्टि नभएर अप्ठेरो पनि पर्छ, त्यस्तो बेला ‘यसको पुष्टि भएको छैन’ भन्ने सानो एउटा वाक्यांश राख्दियो भने अलिकति उम्कने बाटो हुन्छ । त्यसले गर्दा यो पूर्ण सत्य हैन, पुष्टि हुन बाँकी रै’छ भनेर सूचित हुन्छ । अचेल धेरै भयो, मैले यस्तो देख्न पाएको छैन।
पत्रकार मित्रहरुले आफूलाई धारिलो पार्न मिहिनेत गर्नुपर्यो, पढ्नुपर्यो । विश्लेषण गर्नुपर्यो । शंका गरिदिनुपर्यो । प्रश्न गरिदिनुपर्यो । राजनीतिक क्षेत्रमा हाम्रा नेताहरु प्रतिप्रश्न नै गर्दैनन् । पत्रकारले चाहिँ जे पायो त्यही प्रश्न गर्छन् । नेताहरु भने सायद पत्रकार रिसाउला भनेर तपाईंले सोधेको कुरा मिलेन नभनी खुरुखुरु उत्तर दिन्छन् । यसरी त पत्रकारिताको विकास हुँदैन।
पञ्चायतको समयमा तुलसी गिरीले मन्त्रिपरिषद्को उपाध्यक्षबाट राजीनामा गर्नुभयो । उहाँ त्यो बेला त्रिपुरेश्वरको सरकारी गेस्टहाउसमा बस्नुहुन्थ्यो । राससबाट रिपोर्टिङ गर्ने म गेस्टहाउसमै पुगेर किन राजीनामा गरेको भनेर सोधेँ । उहाँले ‘मतभेद भएर’ भन्नुभयो । मैले फेरि सोधेँ, ‘को सँग मतभेद भएर ?’
उहाँले टाठो आवाजमा हकार्नुभयो, ‘तपाईं पत्रकार होइन ? तपाईंलाई त्यति पनि थाहा छैन ? कोसँग मतभेद हुन्छ मेरो ? त्यति पनि बुझ्नुहुन्न है तपाईं !’ मलाई आफ्नो तयारी नपुगेको अनुभूति भयो।
बेलायतमा एकपटक अविवाहित व्यक्ति प्रधानमन्त्री भए । त्यहाँ प्रधानमन्त्री भएपछि टेन डाउनिङ स्ट्रिटमा प्रम पत्नीले पार्टी आयोजना गर्ने चलन रै’छ । तर प्रधानमन्त्री अविवाहित रहेकोले पार्टी हुनेबारे अन्योल देखेपछि एक पत्रकार महिलाले ती प्रधानमन्त्रीलाई सोधिछन्, ‘त्यो पार्टी अब कसले आयोजना गर्छ ?’
संयोगले पत्रकार पनि अविवाहित रहिछन् । प्रधानमन्त्रीले तुरुन्तै प्रतिप्रश्न गरेछन्, ‘यो कुरालाई तपाईंले मसँग विवाह गर्न प्रस्ताव राखेको भनेर सम्झूँ म ?’ ती पत्रकार कालोनीलो भइछन्।
नेताहरुले त्यसरी प्रतिप्रश्न गरिदियो भने पत्रकारले अनावश्यक प्रश्न गर्दैनन् । हाम्रो पत्रकारिता माझिनलाई नेताहरुले प्रतिप्रश्न गरिदिन सक्ने अवस्था विकास हुनुपर्छ । त्यो भयो भने हामी खारिन्थ्यौं । अध्ययन गरेर, पृष्ठभूमि बुझेर मात्र जान्थ्यौं।
आफूलाई पृष्ठभूमि थाहा नभएको कुरा सोध्न मिल्दैन । कि त मैले बुझेको छैन भनेर सोध्न मिल्छ । ठाडो प्रश्न सोध्न चाहिँ आफूले बुझेको विषय हुनुपर्यो।
सञ्चार माध्यमका लागि पाठक निकै महत्वपूर्ण हुन आउँछ । पाठक, श्रोता, दर्शक नभए के अर्थ ? त्यही भएर सञ्चार माध्यमले मेरो मूल पात्र नै पाठक/श्रोता/दर्शक हो भन्ने सोच्नुपर्यो । पाठक मेरो मुख्य प्राणदाता हो, मेरो पेशालाई सुरक्षित र विकसित गर्न उसको भूमिका छ भन्ने सोच राख्यो भने पत्रकारिताले सही बाटो समाउँछ भन्ने लाग्छ ।
हामीकहाँ एकथरी पाठक निकै सचेत छन् भने अर्काथरी भर्खरका छन्, जो विश्लेषण नै गर्दैनन् । पाठकले आएका समाचारलाई हो या होइन भनेर विश्लेषण गर्न र विवेक पुर्याउन सक्ने भयो भने प्रभावकारी हुन्छ ।
मिडियालाई सही बाटोमा ल्याउन सचेत पाठकको ठूलो भूमिका हुन्छ । किनकि पाठकले सत्य कुरालाई साथ दिएर नराम्रोलाई उपेक्षा गरिदिन्छ । सचेत पाठकले समाचार पस्कने पक्षसँग अन्तक्र्रिया पनि गरिदिनुपर्छ ।
हामीले गम्भीर कुरा खोज्ने सचेत पाठकको कुरा गरिरहँदा बजारमा भने सनसनीखेज कुराले पकड जमाएको देखिन्छ । तर, सनसनीले क्षणिक उत्तेजना देला, सधैं भने काम गर्दैन । समय लागे पनि अन्ततोगत्वा सही कुराले नै बजार लिने हो । नक्कलीको प्रभाव क्षणिक हुन्छ ।
समाजमा विषयलाई गम्भीरतापूर्वक लिने मान्छे पनि छन् । उनीहरुले ‘जेनुइन’ आलोचना गर्छन् । तर, कतिपय अवस्थामा त्यस्ता पाठक निस्क्रिय पनि बसिदिन्छन् । धेरै पटक ‘जेनुइन’ कुरा उठाउँदा पनि सुनिएन भने मौन बस्ने बानी हुँदो रै’छ । तर, समाजमा सुन्नेहरु शून्य भइसकेका छैनन् ।
प्रस्तुतिः जोतारे धाइबा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।