फाइल तस्बिर।
काठमाडौं- संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ‘सेफगार्ड्स, एन्टी–डम्पिङ तथा काउन्टरलेभिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सुझावसहित पारित गरेको छ।
समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सो विधेयक सुझावसहित पारित गरेको हो। सम्बन्धित निकायको सुझावसहित सो विधेयक पारित गरिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए। समितिको बैठकले सो विधेयक प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय पनि गरेको छ।
आयातित वस्तुका कारण स्वदेशी उद्योगलाई हुने गम्भीर हानी तथा नोक्सानीबाट रोक्ने कानुनी व्यवस्था गर्न सरकारले सो विधेयक ल्याएको हो। विधेयकमा स्वदेशी उद्योगलाई गम्भीर नोक्सान पुर्याउने गरी कुनै पनि वस्तुको आयात भएमा त्यसलाई रोक्न भन्सारमा अतिरिक्त महशुल लगाउने, त्यस्तो सामानको आयातमा पूर्ण वा आंशिक परिमाणात्मक बन्देज लगाउने प्रावधान राखिएको छ।
स्वदेशी उद्योगको हितका लागि अतिआवश्यक सो विधेयक समितिले आवश्यक छलफल गरी पारित गरेकोमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले समितिप्रति आभार व्यक्त गरे।
मन्त्री यादवले सो विधेयकले स्वदेशी उद्योगीहरुको हित प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।