काठमाडौं– चीनको तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ।
बिहीबार राति स्थानीय समयअनुसार १० बजेर ३३ मिनेटमा गएको भूकम्पको केन्द्र उत्तरी तिब्बतको नाग्छु क्षेत्रस्थित एक उच्च हिमाली काउन्टीमा रहेको थियो। भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको चीनको भूकम्प सञ्जाल केन्द्रले जनाएको छ।
भूकम्पका कारण केही घरका भित्तामा चिरा परेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा अग्नि नियन्त्रण टोली परिचालन गरिएको छ। भूकम्पपछि ३ देखि ४ म्याग्निच्युडका परकम्पसमेत गएको जनाइएको छ।
समुद्री सतहबाट औसत ४ हजार ८६४ मिटर उचाइमा रहेको भूकम्पको केन्द्र ल्हासाबाट करिब ४०० किलोमिटर टाढा छ।
यो सन् २०२४ को जनवरीयता चीनमा गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको समाचारमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।