काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले नेपाल संयुक्त अरब इमिरेट्स (युएइ)लाई त्यहाँको आवश्यकता अनुसारका कृषि उपज निर्यात गर्न चाहेको बताएका छन्।
नेपालका लागि युएईका राजदूत सइद हम्दान अल नाक्बी र मन्त्री खनालले मन्त्रालयमा गरेको शिष्टाचार भेटमा मन्त्री खनालले यस्तो बताएका हुन्।
मन्त्री खनालले भने, ‘तपाईहरूको प्राथमिकता निर्धारण गर्नूस्, हामी त्यसका लागि व्यवशायीक उत्पादन गरेर निर्यात गछौं।’
नेपालले खासगरी अर्गानिक कफी, अलैंची, गुणस्तरीय चिया, अदुवा लगायतका कृषि उपज निर्यात गर्न सक्ने मन्त्री खनालको भनाई छ।
यसले दुई देशको व्यापारिक र पारस्परिक सम्बन्ध विस्तार हुने मन्त्री खनालले विश्वास व्यक्त गरेका छन्। त्यसका लागि युएईले आवश्यक परे प्राविधिक सहयोग गर्न सक्ने उनको भनाई थियो।
जवाफमा राजदूत नाक्बीले युएइले अधिकांश खाद्य पदार्थ चीन, भारत, पाकिस्तानलगायतका मुलुकबाट आयात गर्ने गरेको भन्दै नेपाल पनि उपयुक्त मुलुक हुन सक्ने धारणा राखे।
चिया, कफी र पानी आफूहरूका लागि आयात गर्ने उपयुक्त वस्तु हुन सक्ने उनको भनाई थियो।
नेपालमा उत्पादन भएका केही कृषि उपज भारतले आफ्नो ट्याग लगाएर युएइ निर्यात गर्ने गरेको सुनाउँदै राजदुत नाक्बीले ब्राण्डिङ, लेवलिङ र प्याकेजिङमा ध्यान दिएर नेपाल आफैले निर्यात गर्न सक्ने सुझावसमेत दिएका छन्।
पानीको समस्या खेपिरहेको युएइले १४ वटा कम्पनी मार्फत समुद्रको पानी शुद्धीकरण गरी उपयोग गरिरहेको राजदूतको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।