विराटनगर– चाडपर्वको बेला यात्रुको चाप कम भएपछि विराटनगर–काठमाडौं रूटमा उडान भरिरहेका एयरलायन्स कम्पनीले टिकट दर निकै घटाएका छन् । काठमाडौंबाट यात्रुको चाप अधिक रहेकाले काठमाडौं–विराटनगर रूटको टिकट दर भने पुरानै कायम राखिएको छ।
विराटनगर–काठमाडौं रूटमा नीजि एयरलायन्सले शनिबारदेखि लागू हुने गरी १ हजार ७ सय रुपैयाँमै उडान भर्ने भएको छ । सरकारी स्वामित्वमा रहेको नेपाल एयरलायन्सले भने बोर्डको निर्णय हुन् बाँकी रहेकाले हाललाई पुरानै भाडा दर कायम रहेको जनाएको छ।
भदौ २४ देखि महानवमी (असोज १३ गते) सम्म विराटनगर–काठमाडौंको भाडा १ हजार ७ सय रुपैयाँ कायम गरिएको निजी एयरलायन्स कम्पनीले जनाएको छ। दसैंमा यात्रुको चाप कम हुँदा बर्सेनी टिकट दर कम गर्ने गरिएको छ। सामान्य अवस्थामा निजी एयरलाइन्सले विराटनगरबाट काठमाडौंको न्यूनतम भाडा ४ हजार दुई सय रुपैयाँ लिँदै आएका थिए।
विराटनगरबाट ५ वटा विमान कम्पनीले दैनिक १४ वटा उडान भर्दै आएका छन्।
बुद्ध एयरले ५, यति एयरलाइन्सले ४, सौर्य एयरलायन्सले ३, नेपाल एयरलायन्सले १ र श्रीएयरलाइन्सले १ पटक दैनिक विराटनगर–काठमाडौं उडान भर्दै आएका छन् । विराटनगर–काठमाडौं उडान भर्ने जहाजको यात्रु बोक्ने क्षमता बढेकाले पनि भाडा न्यून भएको हो । काठमाडौंबाट विराटनगर आउने यात्रुको चाप हुने भएकाले भाडा घट्नुको साटो बढ्दै जाने निजी एयरलाइन्स स्रोतले जनाएको छ । काठमाण्डौंबाट विराटनगर आउने यात्रुहरूले ४ हजार ५ सय देखि ७ हजार ५ सय रुपैयाँसम्म भाडा तिर्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।