काठमाडौं–आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट विनियोजन भएको भोलिपल्ट बिहीबार पुँजी बजारमा सकारात्मक प्रभाव देखिएको छ।
कारोबार सुरु हुनेबित्तिकै नेपाल स्टक एक्सचेञ्ज नेप्से उकालो लाग्न सुरु भएको छ। बिहीबार बजार खुलेको एक घण्टा पनि नबित्दै ३० करोड रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएको छ।
पुँजी बजारप्रति अनुदार अर्थमन्त्रीको छवि बनाएका डा. युवराज खतिवडाको दोश्रो बजेटको भने लगानीकर्ताले तारिफ गरेका छन्।
स्टक ब्रोकर्स एशोसियसन नेपालले पूँजी बजारका लागि सकारात्मक प्रभाव पार्ने खालको बजेट आएको भन्दै वक्तव्यसमेत निकालेको छ।
एशोसिएसनले बिहीबार जारी गरेको वक्तव्यमा ‘धितोपत्र कारोबारको लाभमा लाग्ने पुँजीगत लाभकरको गणना भारित औषत लागत विधिबाट गर्ने व्यवस्थाले लाभकर गणना विधिमा भएको अन्यौलता हटेको भन्दै त्यसको सराहना गरेको छ।
त्यसैगरी, बजेटले दोस्रो बजारको सबै कारोबार विद्युतिय प्रणालीबाट गर्न लागेको, सरकारी ऋणपत्र कारोबारको लागि अनलाइन प्रणालीको विकास गर्न लागेको, गैरआवासीय नेपालीहरुलाई दोस्रो बजार मार्फत पनि लगानी गर्न सकिने व्यवस्था गरेको लगायत विषयहरु सकारात्मक रहेको एशोसिएसनले जनाएको छ।
जसका कारण आगामी दिनमा धितोपत्र बजारको दायरा झन् फराकिलो हुने उसको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।