काठमाडौँ- अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार ८१ वटा स्थानीय तह विद्युत पहुँच बाहिर छन्।
'अझै पनि १० वटा नगरपालिकामा विद्युत सुविधा पुगेको छैन,' आर्थिक सर्वेक्षणले भन्छ। तर, ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन भने यो तथ्याङ्क स्वीकार गर्दैनन्।
उर्जा मन्त्रालय मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले ९० प्रतिशत जनसंख्यामा विद्युत सुविधा पुगेको तथ्याङ्क नै आधिकारिक रहेको जिकिर गरे।
‘हामीले पछिल्लो दुई वर्षमा करिब १० प्रतिशत ग्रामीण विद्युतीकरण गरेका छौं। आगामी २ वर्षमा शतप्रतिशत विद्युत सुविधा पुग्छ। अहिले ७२ प्रतिशत नेपाल विद्युत प्राधिकरणको प्रशारण लाईनसँग जोडिएका छन् भने १८ प्रतिशतले प्रशारण लाईनभन्दा बाहिरबाट विद्युत सुविधा लिइरहेका छन्। बाँकी १० प्रतिशत पनि हामी दुई वर्षमै पुर्याउँछौं,’ मन्त्री पुनले भने।
पछिल्ला वर्षमा विद्युत विस्तारको काम देखेर अन्तर्राष्ट्रिय निकायले समेत तारिफ गरेको उनको भनाइ थियो।
मन्त्री पुन फ्रान्सको पेरिसमा ईन्टरनेसनल हाईड्रोपावर कंग्रेस र संयुक्त राज्य अमेरिकको न्यूयोर्कमा संयुक्त राष्ट्र संघको सबैलाई दिगो उर्जा कार्यक्रमको मध्यावधि मूल्याङ्कन सम्बन्धी सम्मेलनमा भाग लिएर यसै हप्तामात्र स्वदेश फर्किएका थिए।
आफ्नो भ्रमणका क्रममा हासिल गरेका उपलब्धि सुनाउँदै मन्त्री पुनले विश्व समुदायले नेपालको उर्जा क्षेत्रमा चासो देखाएको र नेपालले पछिल्लो समयमा गरिरहेका कामको पनि तारिफ गरेको धारणा राखेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।