बुटवल- बुटवलमा अत्याधुनिक स्तरको प्रदर्शनी केन्द्र बन्ने भएको छ। बुटवल उपमहानगरपालिका-१०, रामनगरस्थित बुटवल मण्डपमा अन्तर्राष्ट्रिय स्तरको उच्च प्रविधियुक्त ‘बुटवल प्रदर्शनी केन्द्र’ निर्माण हुने भएको हो।
एक अर्ब दुई करोडको लागतमा निर्माण हुने बुटवल प्रदर्शनी केन्द्रको नेकपाका महासचिव विष्णु पौडेलले सोमबार शिलान्यास गरेका छन्।
प्रदर्शनी केन्द्रको शिलान्यास गर्दै महासचिव पौडेलले सम्झौता गरिएको २७ महिनाको अवधिमा निर्माण पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। बुटवल मण्डपमा निर्माणाधीन अन्तराष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रका लागि बजेटको कमी हुन नदिने उल्लेख गरेका थिए।
नेपाल सरकारको सहरी विकास मन्त्रालय, सहरी विकास र भवन निर्माण विभाग अन्तर्गतको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइले ग्लोबल टेन्डर आह्वान गरेको थियो।
क्यापासिट इन्फ्रा प्रोजेक्ट्स–गौरी पार्वती जेभी कम्पनीले ठेक्का लिइसकेको आयोजना प्रमुख शिखर लामाले बताए। लामाका अनुसार निर्माण सुरु भएको २७ महिनामै यसको निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ।
यस्तो बन्नेछ प्रदर्शनी केन्द्र
बुटवलको राजमार्ग चौराहबाट पूर्वपट्टि बुटवल मण्डपको कुल जग्गा साढे १६ बिघा छ। यही जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनीस्थल बन्न लागेको हो।
साढे १० बिघा क्षेत्रफलमा अहिले अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल (सभाहल) निर्माणको काम चलिरहेको छ। आकाशबाट हेर्दा नेपाली राष्ट्रिय झण्डा आकारमा यो प्रदर्शनी स्थलको निर्माण हुनेछ। मण्डपमै रहेको बाँकी ६ बिघा क्षेत्रमा व्यवस्थित प्रदर्शनी केन्द्र बनाइने छ। एक अर्ब २ करोडभन्दा बढी लागत अनुमान गरिएको यो प्रदर्शनी स्थल मुलुककै नमूना हुने बताइएको छ।
बुटवल मण्डपमा बन्ने यो सभाहल तथा प्रदर्शनी केन्द्र मुलुककै ठूलो र आकर्षक हुने दाबी गरिएको छ। यसको प्रदर्शनी केन्द्रमै हरियालीसहितका चिल्डेन पार्क, आधुनिक बैठक कक्ष, व्यवस्थित पार्किङ क्षेत्रसहित हरियालीयुक्त वातावरणका पभेलियनहरु तयार पारिनेछन्। प्रदर्शनीका लागि ट्रस्ट सिस्टमको ठूलो हलमा १२ हजार स्क्वायर मिटरमा प्रदर्शनी गर्न मिल्ने गरी मूल स्थलको डिजाइन गरिएको छ।
८ सय वटासम्म स्टलहरु राख्न मिल्ने सम्मेलन केन्द्रका स्टलहरुलाई आवश्यक परेका बखतमा घटाउन/बढाउन मिल्ने गरी डिजाइन गरिएको छ।
प्रदर्शनी स्थलमा पाँच सय स्क्वायर मिटरमा आकर्षक हरियालीसहितको बाल उद्यान बन्नेछ। मण्डप परिसरमा रहेको गणतन्त्र स्मारकलाई स्थानन्तरण गरेर थप आकर्षक क्षेत्रमा सार्ने गरी डिजाइन गरिएका आयोजना प्रमुख लामाको भनाइ छ। स्तम्भका लागि छुट्टै पोखरी निर्माण गरेर दीपसहितको स्थानमा सारिने छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।