काठमाडौँ- अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले सन् २०१९ मा विश्वको अर्थतन्त्र ३ दशमलव ३ प्रतिशत हुने प्रक्षेपण गरेको छ। सन् २०१८ मा ३ दशमलव ६ प्रतिशतले वृद्धि भएको विश्व अर्थतन्त्र यस वर्ष ३ दशमलव ३ प्रतिशतमा मात्र सीमित हुने प्रक्षेपण आइएमएफले गरेको हो।
विश्वको अर्थतन्त्रमा यसवर्ष ३ दशमलव ३ प्रतिशतले विस्तार हुँदा नेपालको वृद्धिदर भने ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने समेत आइएमएफको अनुमान छ।
यद्यपि केन्द्रीय तथ्याङ्क विभागले ६ दशलमव ८ प्रतिशतको प्रक्षेपण र सरकारले भन्ने बेलामा ७ प्रतिशतको आर्थिक वृद्धिदर रहेको दाबी गर्दै आएको छ।

आइएमएफकाअनुसार सन् २०१८ को उत्तरार्द्धमा विश्व आर्थिक क्रियाकलापमा आएको सुस्तताले धेरै अर्थतन्त्रहरु प्रभावित भए।
चीन र अमेरिकाबीचको व्यापार असहजता, युरोपेली अर्थतन्त्रमा आएको शिथिलता, नयाँ उत्सर्जन मापदण्ड अवलम्बनका कारण जर्मनीको व्यवसायिक, औद्योगिक क्षेत्रमा देखिएको व्यवधान, इटलीको लगानीमा आएको कमी र जापानको अर्थतन्त्रमा प्राकृतिक प्रकोपबाट परेको असरजस्ता कारणले अघिल्लो वर्ष ३ दशमलव ६ प्रतिशतको विश्व आर्थिक वृद्धिदर यसवर्ष ३ दशमलव ३ प्रतिशत मै खुम्चिने देखिएको हो।
भारत र बंगलादेशपछि दक्षिण एसियामा नेपालको आर्थिक वृद्धिदर उच्च
यसवर्ष दक्षिण एसियाली मुलुकमा भारत र बंगलादेशले सबैभन्दा बढी ७ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने देखिन्छ।
बंगलादेश र भारत पछि नेपालको आर्थिक वृद्धिदर अन्य दक्षिण एसियाली मुलुकको तुलनामा बढी छ।

सन् २०१८ मा ७ दशमलव १ प्रतिशतले वृद्धि भएको भारतीय अर्थतन्त्र सन् २०१९ मा ७ दशमलव ३ प्रतिशतले विस्तार हुने प्रक्षेपण अन्तराष्ट्रिय मुद्राकोषले गरेको छ। सन् २०१८ मा चीनको अर्थतन्त्र ६ दशमलव ६ प्रतिशतले बढेकोमा सन २०१९ मा ६ दशलमव ३ प्रतिशत हुने अनुमान छ।
सन् २०१९ मा नेपाल, भारत, श्रीलंका र अफगानिस्तान बाहेक अन्य सबै दक्षिण एसियाली मुलुक र चीनको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण रहेको छ।
मुद्रास्फीति
अन्तराष्ट्रिय मुद्रा कोषले विकसित अर्थतन्त्रको मूल्य वृद्धिदर सन २०१८ को तुलनामा सन् २०१४ मा शून्य दशमलव ४ प्रतिशत बिन्दुले कमी आई १ दशमलव ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ।
त्यसैगरी, उदीयमान तथा विकासशील अर्थतन्त्रको मूल्य वृद्धिदर सन २०१८ मा ४ दशमलव ८ प्रतिशत रहेकोमा सन् २०१९ मा सीमान्त वृद्धि भई ४ दशमलव ९ प्रतिशत रहने प्रक्षेपण रहेको छ।
मध्यपूर्व तथा उत्तर अफ्रिकी मुलुक र न्यून आय भएका विकासशील अर्थतन्त्रको मुद्रास्फीति घट्ने प्रक्षेपण रहेको छ।
यस अवधिमा विश्व उर्जा मूल्य १७ प्रतिशतले घटेको र तेलको मुल्य प्रति ब्यारेल ८१ अमेरिकी डलरबाट सन् २०१९ अप्रिलमा ६१ अमेरिकी डलर पुगको छ। यसकारण पनि विकसित अर्थतन्त्रको मुद्रास्फीति कम हुन गएके देखिन्छ।

सन् २०१८ को तुलनामा सन् २०१९ मा दक्षिण एसियाली मुलुकमध्ये बंगलादेशबाहेक अन्य सबै मुलुक तथा चीनको उपभोक्ता मुद्रास्फीति बढ्ने अनुमान छ।
दक्षिण एसियाका अधिकांश देशको मुद्रास्फीति २०१८ को तुलनामा सीमान्त वृद्धि हुने र पाकिस्तानको मुद्रास्फीति सन् २०१८ को तुलनामा झण्डै दोब्बर हुने प्रक्षेपण गरिएको छ। सन २०१९ मा नेपालको उपभोक्ता मुद्रास्फीति सन् २०१८ को ४ दशमलव २ प्रतिशतबाट बढेर ४ दशमलव ९ प्रतिशत रहने अन्तराष्ट्रिय मुद्राकोषको प्रक्षेपण रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।