काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले विवादकाबीच ‘अमेरिकी राजदूतसँग गफगाफ’ कार्यक्रम सुरु गरेका छन्।
बेरीले गत सोमबार सामाजिक सञ्जालमा जोडिएका नेपाली नागरिकसँग कुराकानी गर्ने भन्दै ‘राजदूतसँग गफगाफ’कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए। पूर्वघोषणा अनुसार बेरीले आज सामाजिक सञ्जालमा कार्यक्रमको पहिलो शृंखलाको भिडियो प्रसारित गरेका छन्। उक्त भिडियोमा प्राची नाम गरेकी एक विद्यार्थी ‘अमेरिकामा पढ्न चाहने नेपाली विद्यार्थीहरुलाई के सल्लहा दिन चाहनुहुन्छ?’ भन्ने प्रश्न राजदूतलाई सोध्छिन्।
उनको जिज्ञासालाई सम्बोधन गर्दै बेरीले अमेरिकामा पढ्न जाने तयारी गर्नकै लागि निकै समय र परिश्रम लाग्ने बताउँछन् र थप जानकारीका लागि काठमाडौंको ज्ञानेश्वरमा रहेका आफ्ना शिक्षा सम्बन्धी सल्लाहकारहरूसँग भेट्न सुझाव दिन्छन्।
यसरी खुल्मखुल्ला गरिने अन्तरक्रिया गैरकूटनीतिक हुने र यसले नेपालको आन्तरिक विषयमा टिकाटिप्पणी गर्ने तहमा राजदूतलाई स्थान दिने भन्दै त्यसको नागरिक तहमा विरोध भइरहेको छ।
नागरिक तहबाट राजदूतको अन्तरक्रिया गर्ने घोषणाको आलोचना भएपछि परराष्ट्र मन्त्रालयले बुधबार राजदूत बेरीलाई मन्त्रालयमै बोलाएर कार्यक्रमबारे स्पष्टीकरण सोधेको विषयमा केही राष्ट्रिय स्तरका सञ्चारमाध्यमले लेखेका थिए। तर, राजदूलाई स्पष्टीकरण सोधेको विषयमा मन्त्रालयले खुलाएको छैन।
एकातिर राजदूत बेरीलाई कार्यक्रमबारे मन्त्रालयले सोधखोज गरिएको दाबी गरे पनि अमेरिकी दूतावासले त्यही दिनको साँझ सञ्चारमाध्यमहरुलाई प्रेसनोट पठाएर आफूले सुरु गर्न लागेको कार्यक्रमको बचाउ गरेको थियो।
जनतासँग प्रत्यक्ष जोडिनुलाई कूटनीतिको एक प्रमुख कामका रुपमा व्याख्या गर्दै उक्त प्रेसनोटमा यस्तै काम आफूहरुले ७२ वर्षयता गरेको दाबी गरिएको थियो।
‘जनतालाई बुझ्नु, उनीहरूको प्राथमिकता थाहा पाउनु र सम्पर्क स्थापित गर्नु कूटनीतिको प्रमुख काम हो,’ प्रेसनोटमा भनिएको छ, ‘हामी यस्तै काम ७२ वर्षयता नेपालमा गरिरहेका छौं।’
यसबारे सरकारले अहिलेसम्म कुनै औपचारिक धारणा सार्वजनिक त गरेको छैन तर अनौपचारिक प्रतिक्रिया भने आएका छन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही सञ्चारमाध्यमलाई अमेरिकी राजदूतको कार्यक्रमप्रति सरकारको ध्यानाकर्षण भएको र त्यसलाई आफूले रोक्न भनेको प्रतिक्रिया दिएका थिए।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पनि राजदूतको गफगाफ कार्यक्रमबारे सरकारको ध्यानाकर्षण भएको बताएका थिए। अन्तर्राष्ट्रिय मामिला सम्बन्धमा भएका प्रोटोकलहरुभित्रै रहेर राजदूतले आफ्ना अभिव्यक्ति दिने आशा व्यक्त गरेका थिए।
‘राजदूतको गफगाफ कार्यक्रमबारे सरकारको ध्यानाकर्षण भएको छ,’ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले भनेका थिए, ‘अन्तर्राष्ट्रिय मामिला सम्बन्धमा भएका प्रोटोकलभित्रै रहेर आफ्ना अभिव्यक्ति दिनुहुन्छ भन्ने सरकारको आशा छ।’
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरु माधवकुमार नेपाल र भीम रावलले राजदूतको यस्तो काम गैरकुटनीतिक हुने भन्दै आलोचना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।