अमेरिकी राजदूतको ‘गफगाफ’: नागरिक तहमा विरोध, सरकार मौन

रामकुमार डिसी | २०७६ जेठ ८ बुधबार | Wednesday, May 22, 2019 १८:५०:०० मा प्रकाशित

काठमाडौँ- नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी विवादमा तानिएका छन्। बेरीले सामाजिक सञ्जालमा जोडिएका फलोअरसँग कुराकानी गर्ने भन्दै ‘राजदूतसँग गफगाफ’कार्यक्रम संचालन गर्न लागेपछि यो गैरकूटनीतिक हुने भन्दै नागरिक तहबाट विरोध भएको छ। 

राजदूत बेरीले सोमबार दूतावासको सामाजिक सञ्जालमा जोडिएका ४० लाख फलोअरसँग प्रत्यक्ष भेटघाट गर्न असम्भव भएकाले उनीहरूका जिज्ञासा र सरोकार सम्बोधन गर्न गफगाफमा आउन लागेको भिडियो सन्देश प्रसार गरेका थिए। तर, उनले लिइने प्रश्नहरु र दिइने जवाफ कस्ता हुन्छन् भन्नेबारे केही उक्त भिडियो सन्देशमा केही खुलाएका छैनन्। 

यसरी खुल्मखुल्ला गरिने अन्तर्क्रिया गैरकूटनीतिक हुने र यसले नेपालको आन्तरिक विषयमा टिकाटिप्पणी गर्ने तहमा राजदूतलाई स्थान दिने भन्दै त्यसको विरोध भइरहेको छ। 

राजदूतको अन्तरक्रिया गैरकूटनीतिक बताउँदै परराष्ट्र मामिलाका अध्येता टीका ढकालले ‘भियना कन्भेन्सन'मा समाजिक संजालबारे उल्लेख नगरेकै कारण त्यो काम गर्न मिल्ने हो भनेर प्रश्न गरेका छन्।‘प्रचण्डले भेनेजुएलाबारे निकालेको वक्तव्यमा प्रतिक्रिया जनाउन नेपाल सरकारको धारणा माग्दै हिँडेका बेरीजी अब नेपाली जनतासँग मन की बात गर्ने हैसियतमा कसरी पुगे?’ ट्वीटरमा उनले लेखेका छन्, ‘भियना कन्भेन्सनमा फेसबुक वा ट्वीटर थिएन! कन्भेन्सनमा नलेखिएका सबै काम गर्न मिल्ने हो?’

उनले आफ्नो ट्वीटमा सुशील कोइराला सरकारको पालामा वीरगंजमा अमेरिकाले ‘शिक्षामूलक’ एफएम चलाउने स्वीकृती लिन खोजेको तर त्यसलाई रोकिएको प्रसंगलाई पनि जोडेका छन्। 

‘सुशील कोइराला सरकारको अन्तिम समयतिर वीरगंजमा अमेरिकाले ‘शिक्षामूलक’ एफएम चलाउने स्वीकृति झन्डै पाइसकेको थियो,’ उनले लेखेका छन्, ‘पछि त्यो रोकियो। त्यो एफएम खुलेको भए भारत, चीन र साउदी अरबले निवेदन ठीक्क पारेका थिए वीरगन्जमै! अब अनियन्त्रित सामाजिक संजालमा सरेछ त्यो स्पर्धा!’

वरिष्ठ पत्रकार कनकमणि दीक्षितले यो यस्तो अन्तर्क्रिया मानवअधिकार, राजनीति र भूराजनीतिबाट टाढा हुनेमा आशंका व्यक्त गरेका छन्। 

पूर्वपरराष्ट्र सचिव एवं संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा राजदूत समेत रहिसकेका दुर्गाप्रसाद भट्टराईले आफ्नो राष्ट्रिय स्वार्थको स्पेस खाली रहे अरुले भरिदिने भन्दै त्यसमा सुझबुझ अपनाउनु पर्ने बताएका छन्। 

‘आफ्नो राष्ट्रिय स्वार्थको स्पेस खाली रहे अरू कसैकाले त्यो भरिन्छ,’ प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव बैरागीलाई ट्वीटरमा ‘मेन्सन’गर्दै उनले लेखेका छन्, ‘कूटनीतिक वृत्तबाट सोझै जनतासँग स्टाइलको लहरले सुनामीको रूप लिनु पहिले नै स्पष्टता, सुझबुझ र सतर्कता रहँदा कति राम्रो राम्रो।’

त्यस्तै पत्रकार किरण नेपालको पनि यस्तो अभ्यास गलत हुने धरणा छ। ‘यो विल्कुलै गलत अभ्यास,’ परराष्ट्र मन्त्रालय र परराष्ट्र मन्त्रीलाई ‘मेन्सन’गर्दै उनले लेखेका छन्, ‘अमेरिकी राजदूतले नेपाली जनतासँग ‘चिटच्याट’ गर्न चाहेझैँ चिनियाँ राजदूतले ‘सियान लियाओ’ भारतीय राजदूतले ‘बाचचित’गर्न थाले के होला?’

पूर्वराजदूत केदारभक्त माथेमा यस्तो अन्तर्क्रियामा धर्म, राजनीति, देशहरूबीचको सम्बन्धस जस्ता गैरकूटनीतिक विषय पनि उठ्न सक्ने भन्दै यसले अप्ठ्यारो निम्तयाउने बताउँछन्। 

'कूटनीतिमा यस्तो संवादको आफ्नै सीमा हुन्छ,’ उनको भनाइ छ, ‘केही विषयमा कुनै विज्ञप्ति जारी गर्नु र सोसल मिडियामा प्रत्यक्ष अन्तरसंवाद गर्नु एकदमै फरक कुरा हो।’

पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य भने अलि फरक धारणा राख्छन्। अहिले ‘पब्लिक डिप्लोमेसी’को पनि अभ्यास हुने गरेको भन्दै उनी समाजिक संजालमा दूतावासले गरेका कार्यक्रमबारे जानकारी दिनुलाई असमान्य मान्न नहुने बताउँछन्। ‘अहिले पब्लिक डिप्लोमेसीको अभ्यास पनि चलनमा छ,’ उलने भने, ‘आफ्ना दूतावासले गर्ने र गरेका कामबारे सोसल मिडियाबाट जानकारी दिनुलाई त्यति असमान्य रुपमा लिनु हुँदैन।’

तर, उनी राजदूतले नेपालको आन्तरिक मामिलामा बोल्न थालेका खण्डमा भने रोक्नुपर्ने बताउँछन्। 

मौन परराष्ट्र मन्त्रालय
राजदूतको अन्तर्क्रिया गर्ने घोषणाको आलोचना भइरहेका बेला परराष्ट्र मन्त्रालय भने यसबारे अहिलेसम्म मौन छ। परराष्ट्रले यसलाई न गलत भन्न सकेको छ, न सही नै।  यसबारे परराष्ट्रको धारणा बुझ्न नेपाल लाइभले मन्त्रायका सचिव र प्रवक्तासँग सम्पर्क गरे पनि उनीहरुले कुनै टिप्पणी गर्न चाहेनन्। मन्त्रालयले यसबारे कुनै विज्ञप्ति पनि निकालेको छैन्।