काठमाडौँ- ६ कन्टेनर ऊन ल्याएर जेठ दोस्रो साता तातोपानी नाका खुलाइने तयारी भएको छ। गृहमन्त्री रामबहादुर थापा बादलले तातोपानी नाका निरीक्षण भ्रमणका क्रममा नाका खुलाउने तयारीका लागि संकेत स्वरुप पहिलो कन्टेनरमा ऊन हुने बिफ्रीङ गरिएको छ। गृहमन्त्री थापासहित सोही क्षेत्रका सांसद अग्नी सापकोटा सिमा क्षेत्रको निर्माण तयारीका बारेमा स्थलगत अध्ययननका लागि आइतबार नै पुगेका थिए।
भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले नेपालतर्फबाट दर्जनभन्दा बढी कामदार पठाई कन्टेनर र ट्रकमा ऊन भरेर नेपालतर्फ ल्याउन चीनपक्षबाट अनौपचारिक रूपमा सहमत भएको बताए। गृहमन्त्री थापालाई पनि सोही विषयमा जानकारी गराएको उनले उल्लेख गरे। ‘भन्सार र अध्यागमन, उद्योग, वाणिज्य संघसँग समन्वय गरी ऊन ल्याएर नाका सञ्चालन गर्ने तयारी गरिरहेका छौं,’ उनले भने।
सिन्धुपाल्चोकबाट चीन जोड्ने भोटेकोसी गाउँपालिकाको तातोपानी क्षेत्र निरीक्षण गर्दै गृहमन्त्री रामबहादुर थापा नेतृत्वको टोलीले अब नाका खुल्ने र व्यापार सुरु हुने बताए।
सुरक्षाका लागि सरकारले सम्पूर्ण व्यवस्था गरेकाले चिनियाँ पक्षले ढुक्कसँग व्यापार गर्ने उनले बताए। सीमावर्ती तातोपानी क्षेत्रको निरीक्षणमा आएका गृहमन्त्री थापाले जेठ १५ वा १७ गते नाका खुल्ने बताए। निर्माणाधीन मितेरी पुल, भन्सार, अध्यागमन कार्यालय, सुख्खा बन्दरगाहदेखि सीमावर्ती क्षेत्रको निरीक्षण गर्दै उनले नाका सञ्चालनका लागि तयार रहन जनप्रतिनिधि र सुरक्षाकर्मीलाई सुझाए।

सुक्खा बन्दरगाह निरीक्षण गर्दै चाँडै सम्पन्न गरेकामा ठेकेदार पक्षलाई बधाई दिए। सबै भौतिक संरचना तयार भइसकेकाले नाका खुल्नेमा द्विविधा नरहेको सांसद अग्नि सापकोटाले बताए। ‘यहाँ गैरकानुनी क्रियाकलापमा कडाई गर्दै नाका चल्नेछ, यसलाई चीन पक्षले संवदेनशील रूपमा लिएको छ,’ उनले भने।
चीनतर्फको भूभाग लगभग तयार हुने अवस्थामा पुगिसक्दा सीमा भेग सडकको सामान्य मर्मत मात्रै सकिएको छ। सुक्खा बन्दरगाह तयार भइरहँदा मितेरी पुलको काम सकिन अझै साता दिन लाग्ने चिनियाँ प्राविधिकले बताएका छन्। यसअघि दर्जनौं पटक सरकारी अधिकारीबाट नाका निरीक्षण भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।