सुनवल- पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ स्थित सूर्यबस्तीमा जारी कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गतको सवस्टेसन निमार्णकार्य करीब ४५ प्रतिशत पूरा भएको छ।
कालीगण्डकी प्रसारण लाइनअन्तर्गत बडेरा सूर्यबस्ती (न्यू बुटवल २२०/१३२ केभी सवस्टेसन) आयोजनाको निमार्णकार्य पूरा हुन अझै करीब ४ महिना लाग्ने आयोजनाले जनाएको छ। २२०/१३२/३३/११ केभी सवस्टेसनमा पहिलो र दोस्रो चरण गरी ३ ट्रान्सफर्मर राखिने योजना रहेको कालीगण्डकी प्रसारण करिडोर आयोजनाका प्रमुख चन्द्रकुमार घोषले जानकारी दिए।
विद्युतको माग र आपूर्ति व्यवस्थापन गर्न कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गत विद्युत सवस्टेसन निर्माणको काम तीव्र गतिमा भइरहेको न्यू बुटवल डिभिजन कार्यालय नवलपरासीका प्रमुख एवं वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाका बुटवल डिभिजन प्रमुख विश्वरञ्जन मिश्रले बताए।
कालीगण्डकी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना सवस्टेसन र कुश्मा तथा पश्चिम नवलपरासीको स्टेसन जोड्ने गरी सवस्टेसन निर्माण जारी छ। नेपाल सरकारले अघि बढाइरहेको सो कार्यका ठेकेदार कम्पनी भारतकाे टाटा प्रोजेक्ट्स लिमिटेड रहेको छ। कुश्मा–न्यू बुटवल खण्डअन्तर्गत पर्वतको कुश्मादेखि बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै पश्चिम नवलपरासीको बडेरासम्म ८८ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुनेछ।
न्यू बुटवलदेखि पश्चिमनवलपरासीको बर्दघाटसम्म २० किलोमिटर लामो अर्को खण्ड निर्माण गरिनेछ। रामनगर बडेरामा २२० र १३२ र ३३ केभीको न्यू बुटवल सवस्टेसन निर्माण भइरहेको छ। करीब २५ बिघा क्षेत्रफलमा निर्माणाधीन आयोजनाका लागि विसं २०७१ मा जग्गा व्यवस्थापन गरिएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।