काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा यस सिजनमा हालसम्म १० जनाको मृत्यु भएको छ। शनिबार आरोहण गरेर फर्किने क्रममा एक बेलायती पर्वतारोहीको मृत्यु भएसँगै यस सिजनमा ज्यान गुमाउने आरोहीको संख्या १० पुगेको हो। यो आँकडा सन् २०१८ को यही सिजनको भन्दा बढी हो।
४४ वर्षीय बेलायती आरोही रोविन हाइनेसको शनिबार सफलतापूर्वक सगरमाथाको आरोहण गरेर फर्किने क्रममा मृत्यु भएको ट्रेकिङ एजेन्सी एभरेष्ट परिवार एक्सपेडिसनका मुरारी शर्माले बताए। शर्माका अनुसार आरोहणपछि करिब १ सय ५० मिटर मात्रै तल झरेको अवस्थामा उनी लडेका थिए।
'समिट सकाएपछि करिब १ सय ५० मात्रै तल झरेका रहेछन्। मतलब ८ हजार ७ मिटरको उचाइमा रहँदा उनी लडेका शेर्पाले बताएका थिए।,' उनले भने, 'शेर्पाले उठाउन खोजेछन्, अक्सिजन सिलिन्डर परिवर्तन गरिदिएछन्, पानी पिलाइदिएछन्, अन्य गाइड र आरोहीको सहयोगमा यी सबै गरे पनि उनलाई बचाउन नसकिएको शेर्पाले बताए।' सो क्रममा एक शेर्पा गाइडसमेत बिरामी भएको उनले जानकारी दिए। उनलाई उद्धार गरी तल्लो क्याम्पसम्म ल्याइएको थियो।
हाइनेसका साथमा २० पटक सगरमाथा आरोहणको अनुभव बटुलिसकेका शेर्पा गाइड रहेका शर्माको दाबी छ। हाल आरोहण टोली अन्य सबै आरोही भने बेस क्याम्प फर्किसकेको उनले जानकारी दिए।
हाइनेससहितको टोलीको आरोहणको सबै व्यवस्था गरिदिएको ट्रेकिङ एजेन्सी एभरेष्ट परिवार एक्सपेडिसनका अनुसार टोली सगरमाथा आरोहणका लागि गत अप्रिल १० मा काठमाडौंबाट सोतर्फ लागेको थियो। टोलीमा एक जना लिडर र ५ जना आरोही थिए। उनीहरुको सहयोगका लागि ४ जना ट्रेकिङ गाइड पनि टोलीमै रहेको शर्माले बताए।
बेलायतको बर्मिंघमस्थित ब्रिटिस क्लाइम्बर फेमिलीले एक विज्ञप्ति जारी गर्दै शोक व्यक्त गरेको छ।
बुधबार सगरमाथा आरोहणका क्रममा पर्वतारोहीको घुइँचो। तस्बिर- निर्मल पुर्जा।
यस वर्ष ऐतिहासिक रुपमा सगरमाथा आरोहणमा धेरै आरोहीले सहभागिता जनाएको बताइए पनि आरोहणका क्रममा मृत्यु हुनेको संख्या पनि अधिक हो। सगरमाथा आरोहणमा धेरै पर्वतारोहीको सहभागीतालाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।
सगरमाथा आरोहणका लागि प्रत्येक विदेशी आरोहीले ११ हजार अमेरिकी डलर राजश्व नेपाल सरकारलाई बुझाउनुपर्छ। सरकारलाई राजश्व बुझाए पनि आरोहणको क्रममा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा आरोहीको सेवासुविधा र उचित नियमनको समेत अभाव रहेको टिप्पणी हुने गरेको छ।
यो साता ज्यान गुमाउने अन्य पर्वातारोहीहरुमा को-को?
यसअघि शुक्रबार मात्रै पनि एक आइरिस पर्वतारोही केविन हाइनेसको समेत मृत्यु भएको थियो। ५६ वर्षीय आयरल्यान्डका नागरिक हाइनेसको तिब्बती क्षेत्रबाट सगरमाथा आरोहण गर्दा मृत्यु भएको हो। ७ हजार मिटरको उचाइसम्म मात्रै पुग्न सकेका उनको फर्किने क्रममा लडेर मृत्यु भएको हो।

यो साता भारतका ४ र नेपाल, अष्ट्रियाका तथा अमेरिकाका एक/एक पर्वतारोहीको मृत्यु भएको जनाइएको छ। अघिल्लो साता पनि आइरिस प्रोफेसर सिमस ललेसको पनि आरोहणका क्रममा लडेर मृत्यु भएको थियो।
स्प्रिङ सिजन सगरमाथा आरोहणका लगि उपयुक्त याम मानिन्छ। त्यसकारण पनि यो याममा धेरै पर्वतारोही सगरमाथा आरोहणका लागि जाने गर्दछन्। गत दुवै याममा गरेर ८ सय ७ जनाले सगरमाथा आरोहण गरेकोमा यस वर्ष सो संख्या बढ्ने बताइएको छ।
२० आरोहीको मृत्यु

८ हजार मिटर उचाइ माथिका हिमाल आरोहणका क्रममा यो याममा मात्रै २० आरोहीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अप्रिलदेखि जुनसम्मको स्प्रिङ सिजनमा हालसम्म २० आरोहीको मृत्यु भएको हो।
मन्त्रालयका अनुसार सगरमाथामा १० जनाको मृत्यु हुँदा ८ हजार उचाइ माथिका अन्य हिमालहरु मकालुमा ४, कन्चनजंघामा ३ तथा ल्होत्से, अन्नपूर्ण र चोयूमा एक/एक जनाको आरोहणका क्रममा मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।