भक्तपुर- मध्यपुरथिमि नगरपालिकाले चालू आव २०७५/७६ को ११ महिनाको अवधिमा ९१ करोड ७४ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको छ। निर्वाचित जनप्रतिनिधिको पदबहालीको दुईवर्षे कार्यकालको समीक्षा गर्दै मध्यपुरथिमि नगरपालिकाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यसबारे जानकारी दिए।
श्रेष्ठका अनुसार नगरपालिकाको दोस्रो नगरसभाबाट स्वीकृत कूल बजेटमा बैसाख मसान्तसम्म ७७.७५ प्रतिशत आम्दानी भएको छ।
नगरपालिकाले आयतर्फ आन्तरिक स्रोतबाट ११ करोड ८६ लाख ४३ हजार र बाह्य स्रोतबाट ७९ करोड ९७ लाख ९८ हजार रुपैयाँ आम्दानी गरेको उनले जानकारी दिए। नगरपालिकाले विभिन्न समस्याका कारण आन्तरिक आयतर्फ २५ करोड रुपैयाँको लक्ष्य लिए पनि उपलब्धि हासिल गर्न नसकेको बताउँदै उनले असार समान्तसम्म २२ करोड पुर्याउने गरी काम भइरहेको बताए।
नगरपालिकाले खर्चतर्फ कूल स्वीकृत बजेटको ३४.४८ प्रतिशत मात्र खर्च गरेको छ। चालू खर्चतर्फ २३ करोड ८१ लाख ३४ हजार र पूँजीगत खर्चतर्फ भने १८ करोड २२ लाख २५ हजार रुपैयाँ मात्रै खर्च गरेको छ। नगरप्रमुख श्रेष्ठले करीब ५२ करोड रुपैयाँ पूँजीगत खर्च भइसके पनि फर्स्यौट हुन बाँकी रहेकाले कम देखिएको दाबी गर्दै असार मसान्तसम्म ६० देखि ७० प्रतिशतसम्म खर्च पुग्ने दाबी गरे।
नगरपालिकाले भौतिक पूर्वाधार विकासका लागि ८८ करोड १२ लाख ३० हजार रुपैयाँ विनियोजन गरी वडा तहमा ९०, नगरस्तरीय ठूला पूर्वाधार ५६ गरी कूल जम्मा १ सय ४६ योजना स्वीकृत भई काम भइरहेको जानकारी दिए।
त्यस्तै नगरपालिका क्षेत्रभित्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक जात्रा, पर्व एवं सम्पदालगायतका 'अमूर्त/मृर्त संस्कृतिको संरक्षणका लागि सांस्कृतिक नगर मध्यपुरथिमि गुरुयोजना' निर्माणकार्य भइरहेको र यसका लागि प्रदेश ३ सरकारबाट एक करोड रुपैयाँ प्राप्त भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।