प्रधानमन्त्रीमा ओली आएदेखि संविधान विरोधी काम मात्रै : निधी

नेपाल लाइभ | २०७६ जेठ १० शुक्रबार | Friday, May 24, 2019 १९:४६:०० मा प्रकाशित

राजविराज- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले प्रधानमन्त्रीमा केपी शर्मा ओली आएदेखि सरकारका तर्फबाट संविधान विरोधी काम मात्रै भएको आरोप लगाएका छन्।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति-४ द्वारा सप्तरीको रुपनी गाउँपालिकास्थित कटैयामा शुक्रबार आयोजना गरेको जागरण अभियानलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

नेता निधीले भने कम्युनिष्ट सरकारले मधेस र पहाड दुवै क्षेत्रका लागि केही पनि नगरेको जिकिर गरे। यसअघि पहाडका जनताले साथ दिए पनि अब उनीहरुले पनि कम्युनिष्टलाई बुझिसकेको बताउँदै उपसभापति निधीले मधेस, तराई, पहाड र हिमालका जनताहरुको सुखदुःख बुझ्ने एकमात्र पार्टी नेपाली कांग्रेस भएको दाबी गरे।

सबै परिवर्तन र जनताको आकांक्षा अहिलेसम्म कांग्रेसकै नेतृत्वमा पूरा भएको जनाउँदै उनले संविधान र पहिलो संशोधन पनि कांग्रेसकै नेतृत्वमा भएको बताए। 'तर, पछिल्लो चुनावमा कांग्रेसले पराजय ब्यहोर्नुपर्‍यो र यसको बदला हामीले अब आउने चुनावबाट लिनुपर्छ।,' निधीको भनाइ थियो।

उनले स्थापना कालमा पार्टीको नाम मधेसी राखेर मधेसी समुदायलाई रिझाउने कथित मधेसवादी दलहरुलाई 'अहिले मधेसी नाम किन फँयाक्नुपर्‍यो? भन्दै प्रश्न गरे। भने, 'यी सब दिखावा मात्रै हुन्।'

त्यस्तै कांग्रेस नेतृ एवं प्रतिनिधिसभा सदस्य डा लिला संग्रौलाले ओली सरकार काण्डैकाण्डमा फसेको आरोप लगाइन्। मधेसवादी भनेका दलहरु अब मधेसवादी नरहेको बताउँदै उनले कांग्रेसले नै मधेसका माग अनुसार संविधान संशोधन गराउनुपर्नेमा जोड दिइन्।

कांग्रेस केन्द्रीय सदस्य एवं अभियानका लागि सप्तरीका केन्द्रीय प्रतिनिधि महेन्द्र यादवले 'मधेसवादी भनिएका दलहरु जनताको लाशमाथि राजनीति गरेर सत्तामा पुगेको' जनाउँदै उनीहरु सतालिप्सामा सीमित रहेको आरोप लगाए।