स्पष्ट बहुमत हात पारेपछि प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष अमित शाह केन्द्रीय पार्टी कार्यालयमा।
काठमाडौं– १७औं भारतीय लोसकभा निर्वाचनको मतगणना सकिएको छ। मतगणनाअनुसार वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी(भाजपा) एक्लैले सुविधाजनक बहुमत प्राप्त गरेको छ।
एक क्षेत्रबाहेक ५ सय ४२ क्षेत्रमा निर्वाचन भएको थियो। बहुमतका लागि भने २ सय ७२ सिटमा जित हात पारे पुग्छ। तर, भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले कूल ३ सय ३ सिटमा जित हात पारेको छ।
यसपटकको निर्वाचनमा भाजपाले सन् २०१४ को निर्वाचनमा भन्दा बढी मत पाएको हो। सन् २०१४ मा भाजपाले २ सय ८२ स्थानमा जितेको थियो।
भाजपा नेतृत्वको गठबन्धन एनडिएले कूल ३ सय ५३ क्षेत्रमा विजयको झण्डा गाडेको छ। यो दुई तिहाइका लागि चाहिने भन्दा करिब ९ सिट कम हो। दुई तिहाइका लागि ३ सय ६२ क्षेत्रमा जित्न आवश्यक हुन्छ।
उता भारतीय राष्ट्रिय कांग्रेस भने यसपटक पनि संसद्मा औपचारिक विपक्षीको मान्यता पाउन समेत असमर्थ भएको छ। कांग्रेस जम्मा ५२ क्षेत्रमा मात्रै विजयी भयो। भारतीय संसद्मा विपक्षीको औपचारिक मान्यता पाउन कूल सिट ५ सय ५५ को १० प्रतिशत स्थानमा जित हासिल गर्नुपर्ने हुन्छ।
जसअनुसार एक्लै ५५ सिट जितेको पार्टीले मात्रै भारतीय संसद्मा विपक्षीको मान्यता पाउँछ।
कांग्रेस सन् २०१४ को निर्वाचनमा पनि विपक्षी दलको मान्यता पाउन असमर्थ भएको थियो। उक्त निर्वाचनमा कांग्रेस जम्मा ४४ सिटमा मात्रै विजयी भएको थियो।
जीतसँगै अब मोदी दोस्रो पटक प्रधानमन्त्री बन्नेछन्। जवाहरलाल नेहरु र इन्दिरा गान्धीपछि मोदी भारतका एक यस्ता प्रधानमन्त्री बनेका छन्, जसले लोकसभा निर्वाचनमा दोस्रो पटक पार्टीलाई पूर्ण बहुमत दिलाउन सफल भएका छन्।
सन् १९५१–१९५२ भन्दा पहिले लोकसभा निर्वाचनमा जवाहरलाल नेहरुको अगुवाइमा कांग्रेसले तीन चौथाइ सिट जितेको थियो। त्यसपछि कांग्रेसले नेहरूकै नेतृत्वमा १९५७ र १९६२ को निर्वाचनमा पनि पूर्ण बहुमत ल्याएको थियो।
सन् १९६७ मा भएको लोकसभा निर्वाचनमा जवाहरलाल नेहरूकी छोरी इन्दिरा गान्धीलाई ५ सय २० क्षेत्रमध्ये २ सय ८२ क्षेत्रमा जित प्राप्त भएको थियो। लोकसभा निर्वाचनमा इन्दिरा गान्धीको यो पहिलो जित थियो।
१९७१ को लोकसभा निर्वाचनमा पनि इन्दिरा नेतृत्वको कांग्रेसले ३ सय ५२ सिट जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।