जनप्रतिनिधिलाई मुख्यमन्त्रीको निर्देशन : चुनावअघि पार्टीको झण्डा बोकौंला, अहिले विकासको झण्डा बोकौं 

अजय शाह | २०७६ जेठ १० शुक्रबार | Friday, May 24, 2019 १९:३९:०० मा प्रकाशित

जनकपुर- मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणको सवालमा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखहरुलाई आग्रह गरेका छन्।

भौतिक पूर्वाधार विकास मन्त्रालयले आज महोत्तरीको बर्दीवासमा आयोजना गरेको सोलार उर्जासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले जनप्रतिनिधिहरुलाई पार्टीको नभई विकासको झण्डा बोकेर अघि बढ्न निर्देशन दिए। उनले भने, ‘अहिले हाम्रो कर्तव्य विकास निर्माण गर्नु हो, चुनावभन्दा केही अगाडि पार्टीको झण्डा बोकौंला तर अहिले हामी सबै विकासको झण्डा बोकौं। अनि मात्र विकास सम्भव हुन्छ।' 

प्रदेश २ मा उर्जाको प्रमुख आधार सोलार उर्जा नै रहेको उल्लेख गर्दै उनले भने, ‘थुप्रै लगानीकर्ताहरु यस प्रदेशमा लगानी गर्न इच्छुक छन्, हामीले जग्गा उपलब्ध गराउनु पर्दछ। त्यसमा यहाँहरुलाई हातेमालो गर्न आवश्यक छ।

जुन पालिकामा सोलार उर्जाबाट विद्युत उत्पादन सुरु हुन्छ त्यहाँ विकासको अन्य पूर्वाधारका साथै रोजगारीको सिर्जना समेत हुने भएकोले स्थानीय तहसँग भएका सार्वजनिक जग्गाहरुको अभिलेख तत्काल प्रदेश सरकारलाई बुझाउन उनले आग्रहसमेत गरे।

प्रदेश २ मा चौधरी ग्रुपले एक वर्षभित्र २ सय मेगावाट सोलार विद्युत उत्पादन गर्ने सम्झौता गरिसकेकोले जग्गा उपलब्धताका लागि प्रदेश सरकारले पहल सुरु गरेको हो।

भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा भएको उक्त छलफल कार्यक्रममा राज्यमन्त्री डा डिम्पल झा, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितका वक्ताहरुले सोलार उर्जाको आवश्यकता र स्थानीय तथा प्रदेश सरकारले गर्नुपर्ने पहलका बारेमा आफना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा प्रदेशभरका राजमार्ग क्षेत्रको स्थानीय तहका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो।