काठमाडौं- गत चैत १५ र १६ गते आयोजना भएको लगानी सम्मेलनपछि करिब ६ दर्जन विदेशी लगानीकर्ता कम्पनीले नेपालका आयोजनाहरुमा लगानी गर्ने इच्छा जाहेर गरेका छन्।
लगानी सम्मेलनमा सोकेसमा राखिएका ७७ वटा आयोजनहरुमध्ये ३० वटा आयोजनामा लगानी गर्न इच्छुक रहेको भन्दै आवेदन परेको लगानी बोर्डले जनाएको छ। सम्मेलनमा सोकेसमा नराखिएका विभिन्न १ दर्जन आयोजनामा पनि प्रस्ताव आएको बोर्डका प्रवक्ता बलराम रिजालले जानकारी दिए।
लगानी सम्मेलनपछि पनि सोकेसमा राखिएका आयोजनामा विदेशी लगानीकर्ताले प्रस्ताव राख्न सक्ने भन्दै लगानी बोर्डले पहिलोपटक एक महिना समय दिँदै अप्रिल २० सम्म र पुनः दोस्रो पटकका लागि १ महिना समय थप्दै मे २० सम्मका लागि समयसीमा तोकेको थियो।
पहिलो पटक दिइएको समयावधि अर्थात अप्रिल २० सम्ममा लनानीकर्ताहरुबाट २६ वटा परियोजनामा ४३ वटा आवेदन प्राप्त भएका थिए। त्यसपछिको १ महिना अवधिमा विभिन्न १५ वटा आयोजनामा लगानी गर्ने भन्दै २७ वटा कम्पनीले थप आवेदन दिएको प्रवक्ता रिजालले बताए।
लगानी गर्नका लागि चासो देखाउँदै आएका निवेदनहरुमा ३० वटा लगानी सम्मेलनमा सोकेसमा राखिएका आयोजनामा र ११ वटा सोकेसमा राखिएका आयोजनाभन्दा बाहिरका आयोजनाहरुमा रहेको लगानी बोर्डले जनाएको छ।
अप्रिल २० अर्थात १ महिना अगाडिसम्ममा सोकेसमा राखेर लगानी आह्वान नगरिएका थप ५ वटा आयोजनामा आवेदन प्राप्त भएकोमा थपिएको पछिल्लो १ महिनामा थप ६ आयोजनामा लगानीका लागि आवेदन आएको छ।
लगानी सम्मेलनमा सरकारका तर्फबाट ५० र निजी क्षेत्रबाट २७ वटा परियोजना प्रस्तुत गरिएका थिए। प्रस्तुत गरिएका परियोजनाहरु कृषि, पूर्वाधार, स्वास्थ्य तथा शिक्षा पूर्वाधार, उर्जा पूर्वाधार, उद्योग पूर्वाधार, यातायात पूर्वाधार तथा सहरी पूर्वाधार रहेका छन्।
हालसम्म कृषि पूर्वाधारका ५ वटा परियोजनामा ८ वटा आवेदन परेका छन्। त्यस्तै स्वास्थ्य तथा शिक्षा पूर्वाधारका २ परियोजनामा ३ वटा, उर्जा पूर्वाधारका ८ वटा परियोजनामा ८ वटा, उद्योग पूर्वाधारका ३ परियोजनामा एउटा, पर्यटन पूर्वाधारका ३ वटा परियोजनामा ३ वटा, यातायात पूर्वाधारका १० परियोजनामा २५ वटा र सहरी पूर्वाधारका ५ परियोजनामा ८ वटा आवेदन परेका छन्।
बोर्डका अनुसार सबैभन्दा बढी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा लगानीका लागि ७ वटा, तमोर जलासययुक्त आयोजनाका लागि ६ वटा र काठमाडौं उपत्यका बाहिरी चक्रपथका लागि ४ वटा आवेदन प्राप्त भएका छन्।
पहिलो चरणका अर्थात अप्रिल २० सम्ममा आवेदन दिएका २७ परियोजनाका लागि ३ महिनाभित्र विकासकर्ता छनोट गरिसक्ने तयारी लगानी बोर्डको छ। त्यस्तै, दोस्रो चरणमा १७ परियोजनाका लागि ९ महिना र तेस्रो चरणमा ६ परियोजनाका लागि १४ महिनाभित्रमा विकासकर्ता छनोट गर्ने जनाएको छ।
प्राप्त आवेदनहरुको मूल्यांकन तथा सम्मेलनमा भएका सम्झौताको कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा ६ सदस्यीय समिति गठन पनि गरिएको छ।
लगानी सम्मेलनमा ४० मुलुकका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६ सय भन्दा बढी लगानीकर्ताको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।