चीनले भन्यो- नेपालमा रेल ल्याउन जटिल तर सम्भव

नेपाल लाइभ | २०७६ जेठ ९ बिहीबार | Thursday, May 23, 2019 १८:१३:०० मा प्रकाशित

काठमाडौँ- चीनले नेपालमा रेल ल्याउने विषय जटिल रहेको तर विस्तारै यो सफल हुने बताएको छ।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार भौगोलिक विकटताका कारण यो अत्यन्त जटिल रहेको र यसमा समय लाग्नेछ। 

बिहिबार चिनियाँ दूतावासमा मिडिया ब्रिफिङमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले यो एक–एक खुड्किलो चढ्दै पूरा हुने विषय  भएको बताइन्। 

‘रेल भित्र्याउने कार्य सजिलो छैन्,’ उनले भनिन्, ‘यो आज घोषणा गरेर भोलि पूरा हुने योजना होइन। यो त एक–एक खुड्किलो चढ्दै पूरा हुने विषय हो।’

काठमाडौंमा हुने रेलको बहस सुनेर आफू अचिम्मत हुने गरेको पनि उनको भनाइ थियो।

आर्थिक रुपमा  चिनियाँ रेलमार्ग नेपाल जोड्ने योजना भएको बताउँदै उनले विभिन्न चरणमा काम गरिने बताइन् ।  

‘नेपालसम्म रेलमार्ग जोड्न योजना आर्थिक रुपमा महंगो छ । समय पनि लामो  लाग्नसक्छ,' उनले भनिन्, ‘तर हामीसँग काम गर्ने दृढ संकल्प छ। विभिन्न चरण पार गर्दै हामी रेल नेपाल भित्र्याउनेछौं।’

नेपालमा चिनियाँ रेल अनुदानमा बनाउनु पर्ने आवाज उठ्ने गरेको छ। यसबारे उनले सम्भाव्यता अध्ययनपछि मात्र छलफल हुने बताइन्। 

उनले बीआरआई अन्तर्गतका परियोजनाहरूमा ऋण लिए चीनको ऋण चंगुलमा फस्ने भन्ने बिषय गलत रहेको बताएकी थिइन्। 

उनले बिआरआई भूरणनीतिको बिषय नभएको पनि स्पस्ट पारेकी थिइन्।