काठमाडौं- सांसदसमेत रहेका उद्योगपति विनोदकुमार चौधरीले देशको आर्थिक विकासका लागि भू-उपयोग हुनुपर्ने बताएका छन्। देश विकासको लक्ष्यसँग जोडेर भूमि सम्बन्धी कानून निर्माण हुनुपर्ने उनले बताए।
मंगलबार प्रतिनिधिसभामा भूमि सम्बन्धी आठौँ 'संसोधन विधेयकमाथि आफ्नो धारणा राख्दै सांसद चौधरीले भूमिको उपयोग उत्पादन बृद्धिका लागि हुनुपर्नेमा जोड दिए।
इन्डस्ट्रियल पार्क, एजुकेसन सिटी र कमर्सियल फार्मिङजस्ता अवधारणा कार्यान्वयन गर्न आवस्यक पर्ने भुमि सहज रूपमा उपलब्ध हुने गरी कानून निर्माण गर्नु आवस्यक रहेको उनले बताए।
‘उत्पादनशील उद्योगमा लगानी अभिवृद्धि गरी उत्पादन वृद्धि गर्नु अहिलेको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी हो। त्यसका लागि उत्पादनशील क्षेत्रमा लगानी गर्नेहरुलाई सहज रूपमा जग्गा उपलब्ध गराउने वातावरण तयार गर्नुपर्छ,’ सांसद चौधरीले भने।
कुल ग्रार्हस्थ उत्पादन (जिडिपी)मा उत्पादनशील क्षेत्रको योगदान १२ प्रतिशतबाट घटेर ६ प्रतिशत पुगेको तथ्य प्रस्तुत गर्दै उद्योगपति तथा सांसद चौधरीले थपे, 'यस्ता समग्र पक्षलाई ध्यानमा राखेर मात्रै हामीले भूमिसम्बन्धी कानून बनाउनुपर्छ। अन्यथा नेपालमा लगानीकर्ताहरूको मनोवल अरू खस्किन सक्छ।'
औद्योगिक र शैक्षिक संस्थाहरूको स्वामित्वमा रहेको तर उपयोग गर्न बाँकी रहेको जग्गा फिर्ता गर्ने सोंच राख्नु सही नभएको विश्लेषण गर्दै चौधरीले औद्योगिक क्षेत्रले दीर्घकालीन सोचका साथ मास्टर प्लान तयार गर्ने र तत्काल केही जग्गा उपयोग नभएको जस्तो देखिएपनि भविष्यको औद्योगिक विस्तारका लागि त्यो जग्गा अपरिहार्य रहने भएकाले यसतर्फको दृष्टिकोणमा नै परिवर्तनको खाँचो रहेको उल्लेख गरेका थिए।
‘ यदि औद्योगिक प्रयोजनले लिएको जग्गा उपयोग हुन सकिरहेको छैन भने राज्यले किन यस्तो भयो भनेर लगानीकर्ताको कुरा सुन्नुपर्छ र उसलाई सहजीकरण गरिदिन सक्नुपर्छ,' सांसद चौधरीले भने, ‘हामीले के बुझ्नुपर्छ भने लगानीकर्ताले उद्योगका लागि लिएको जग्गामा कदापी घर बनाएर बस्दैन। उत्पादन बढाउनकै लागि उसले त्यो जमिनको प्रयोग गर्छ।’
सांसद चौधरीले आजको विश्वमा विस्तार भइरहेका आर्थिक क्षेत्र र कमर्सियसल फार्मिङका उदाहरण प्रस्तुत गर्दै जमिनको खण्डीकरणबाट देशलाई औद्योगिकरण र व्यवसायिक कृषिको जग बसाल्न सम्भव नभएको बताए।
मुलुक आर्थिक समृद्धिको योजनामा अगाडि बढिरहदा उत्पादन बृद्धिको आधारभूत पक्ष भूमिको उपयोग सम्वन्धी अवधारणालाई देशको बृहत्तर आर्थिक विकाससँग जोडेर अगाडि बढ्न आवश्यक भएको र यसका लागि उपयुक्त समय यही भएको पनि सांसद चौधरीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।