रसुवा- तस्करीमार्फत् नेपाल भित्र्याउँदै गरेको ७ किलो सुनसहित पक्राउ परेमा रसुवा यर्साका कासेर ग्याल्बो घले विरुद्ध मुद्दा दायर भएको छ।
राजश्व अनुसन्धान विभागले मंगलबार रसुवा जिल्ला अदालतमा घले विरुद्ध ७ करोड ११ लाख ७६ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो। रसुवागढी नाका हुँदै अवैध रूपमा ल्याइएको ७ केजी सुन प्रहरीले नाकमा बरामद गरेको थियो।
विभागको अनुसन्धानमा उक्त सुन घलेको भएको पाइएपछि उनी विरुद्ध मुद्दा दायर गरेको हो।
चीनको केरुङबाट स्याउ बोकेर नेपाल आएको कन्टेनरबाट सुन बरामद भएको थियो। ना ६ ख ९०६८ नम्बरको कन्टेनरको क्याबिनमा लुकाएर ल्याएको विशेष सुराकीका आधारमा सुन बरामद गरिएको थियो।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले जिल्लाको गोसाईँकुण्ड गाउँपालिका-२ टिमुरेस्थित घट्टेखोलाबाट बरामद गरेको थियो।
सुनसहित चालक नौकुण्ड गाउँपालिकाका-१ का घलेलाई प्रहरीले नियन्त्रणमा लिइएको थियो। अवैध सुन ओसारपसारमा अन्य व्यक्तिहरु पनि संलग्न हुन सक्ने भन्दै विभागले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।
तर तत्काल अन्य व्यक्तिको पहिचान खुल्न नसकेपछि घले विरुद्ध मुद्दा दायर भएको हो। राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनको कसुरमा रसुवा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
सुनको नियमानुसार लाग्ने र बुझाउनु पर्ने राजस्व चुहावट गरेको दाबी समेत आरोपपत्रमा उल्लेख छ।
विभागले पक्राउ परेका घलेबाट बरामद गरेको सुनको मूल्य विदेशी विनिमय दर अनुसार ३ करोड ५५ लाख ८८ हजार रहेको छ।
चीनबाट सुन खरिद गर्न सोही रकम बराबरको विदेशी विनिमय गैरकानुनी तबरबाट अपचलन गरेको पुष्टि भएकाले सो रकम पनि बिगो कायम हुनुपर्ने आरोपपत्रमा दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।