कम्बोडियाका नागरिकलाई प्रधानमन्त्री ओलीको आग्रह : लुम्बिनी आउनुहोस्, हामी सेवा दिन्छौं

नेपाल लाइभ | २०७६ बैशाख ३१ मंगलबार | Tuesday, May 14, 2019 १८:२१:०० मा प्रकाशित

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका नागरिकलाई नेपाल भ्रमणमा आउन आग्रह गरेका छन्। 

कम्बोडियाको भ्रमणमा रहेका ओलीले मंगलबार नेपाल-कम्बोडिया व्यापार मञ्चलाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन्। 

लुम्बनी गौतम बुद्धको जन्मस्थल र बुद्धत्वको आधार भएको भन्दै ओलीले कम्बोडियाका बुद्ध धर्मावलम्बीको देश भएकाले पनि नेपाल र कम्बोडियालाई जोड्ने लुम्बिनी बलियो 'चिज' भएको बताए। 

कम्बोडियामा ९६.९ प्रतिशतले बौद्ध धर्म मान्ने गर्छन्।

यद्यपि, नेपाल भ्रमणमा आउने पर्यटकको संख्या भने नगन्य छ। 

‘हामी धेरै भन्दा धेरै कम्बोडियाका दिदीबहिनी तथा दाजुभाईलाई लुम्बनी स्वागत गर्न चाहान्छौं,’ ओलीले भने, ‘तपाईंहरुको भ्रमणलाई सघाउन हामी लुम्बिनी भन्दा २२ किमी पूर्वतिर भैरहवामा यसै वर्षको अन्त्यमा अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्न गइरहेका छौं।’

दुई देशबीच सिधा हवाई सम्र्पक स्थापना गर्ने कुरामा सकरात्मक कुराकानी भइरहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले यसले बौद्ध तिर्थयात्री र अन्य यात्रीलाई लुम्बिनी भ्रणमा सजिलो हुने विश्वास व्यक्त समेत गरे। 

उनले लुम्बिनीमै अन्तर्राष्ट्रिय ‘बेशाख दिवस’ समेत आयोजना गर्न लागेको बताए। 

लगानीका लागि नेपाल ‘भर्जिन ल्याण्ड’ भएको भन्दै प्रधानमन्त्री ओलीले धेरै क्षेत्रमा लगानी गर्ने अवसर भएको बताए। 

‘लगानीकर्ताका लागि नेपाल भर्जिन ल्याण्ड हो,’ उनको भनाइ थियो, ‘जुनसुकै ठाउँ र क्षेत्रमा लगानी गर्नुहोस् प्रतिफल आउने निश्चित छ। कृषि, जलस्रोत, जडिबुटी, सेवा उद्योग र वित्तीय बजार जस्ता अरु क्षेत्रमा पनि लगानी गर्ने अवसर छ।’

नेपालले वैदेशिक लगानीलाई स्वागत गर्न विभिन्न प्रयत्न गरेको भन्दै प्रधानमन्त्रीले कम्बोडियाका व्यवसायीलाई त्यसबारे जानकारी समेत गराएका थिए। 

उनले नीतिगत स्थिरता, बलियो नियामक संयन्त्र र लगानी प्रक्रियामा सहजता ल्याएको जानकारी गराएका थिए।

नेपाल–कम्बोडिया व्यापार मञ्चलाई प्रधानमन्त्री ओलीसँगै कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पनि सम्बोधन गरेका थिए।