काठमाडौं- नेपाल विद्युत प्राधिकरणले आफू मातहतका सबै निर्देशनालय, वितरण केन्द्र तथा कार्यालयहरुमा भ्रमण खर्च, खाजा खर्च र बैठकभत्ता वितरणमा मितव्ययिता अपनाउन सर्कुलर जारी गरेको छ।
प्राधिकरण कर्मचारीले ठूलो रकम भ्रमण खर्च, खाजा खर्च तथा बैठक भत्ताका रुपमा सक्ने गरेको विषयमा समाचारहरु बाहिरिएपछि प्राधिकरणले बैसाख २५ गते यस्तो सर्कुलर जारी गरेको हो। प्राधिकरणले केन्द्रीय भुक्तानी महाशाखामा बजेट केन्द्र भएका निर्देशनालयहरु तथा सम्पूर्ण विभागहरुलाई पत्र काट्दै स्वीकृत बजेटको परिधिभित्र रहने गरी मात्रै खर्च गर्न परिपत्र गरेको छ। त्यस्तो रकमका लागि पूर्वस्विकृति र बिल स्विकृति गर्दा बजेट व्यवस्था भएको छ/छैन भनेर यकिन गरेर मात्र काम गर्न प्राधिकरणले निर्देशन दिएको छ।
कार्यालयको कामको सिलसिलामा दैनीक भ्रमण भत्ता, अतिथि सत्कार, जलपान, चियापान, र ओभरटाइम काम गर्दा कर्मचारीले पाउने रकम वार्षिक स्वीकृत बजेटको परिधिभित्रै रहेर मात्र निर्धारण गर्न प्राधिकरणले निर्देशन गरेको छ।

यसरी अनावश्यक रुपमा ठूलो रकम खर्च भइरहेको विषयमा करिब एकमहिना अगाडि पत्रकार सम्मलेन नै आयोजना गरेर प्राधिकरणले स्पष्टीकरण नै दिएको थियो। चैत २५ गते पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणभित्रका कर्मचारीले बैठक भत्ता, भ्रमणभत्ता र खाजा खर्चका रुपमा ठूलो रकम खर्च भएको विषय सञ्चारमाध्याममा आएको प्रति आपत्ति जनाएका थिए। त्यसको ठिक एक महिनापछि प्राधिकरणले त्यस्तो खर्चमा मितव्ययिता अपनाउन सर्कुलर जारी गरेको छ।
घिसिङले आफूविरुद्ध षड्यन्त्र गर्नेहरुले आफूले ६० लाख बैठक भत्ता लिएको अफवाह फैलाएको पनि उक्त पत्रकार सम्मेलनमार्फत बताएका थिए।
‘मैले बैठकभत्ता ६० लाख बुझ्यो रे भनेर व्यक्तिगत रुपमा आक्षेप लगाएर बदनाम गर्ने उद्देश्यले कुराहरु बाहिर आएका छन्। मैले नेपाल सरकारसँग कार्यसम्पादन करार गरिसकेपछि इन्सेन्टिभका रुपमा मासिक २ लाख गरी वर्षमा २४ लाख र बैठक भत्ताका रुपमा ६ लाख रुपैयाँ लिएको छु। यसलाई नै केही मानिसहरुले ६० लाख भत्ता लियो रे भनेर अनर्गल प्रचार गर्दै आएका छन्,’ उक्त पत्रकार सम्मेलनका क्रममा घिसिङले भनेका थिए।
बैठक नै नगरीकन बैठकभत्ता लिएको भन्ने कुरामा कुनै सत्यता नभएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।