काठमाडौं- नेपाली श्रमिकहरुका लागि गन्तव्य मुलुक बन्न लागेको जापान रोजगार दुई देशको संयुक्त कार्यसमिति (ज्वाइन्ट वर्किङ ग्रुप) को छलफलमै अल्झिएको छ।
जापान र नेपालबीच दुईपक्षीय श्रम समझदारी (एमओसी) मा हस्ताक्षर भएको एक महिना बितिसक्दा समेत जापानमा नेपाली कामदारहरु कहिलेदेखि पठाउने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन। मन्त्रालयले यसअघि जापान रोजगारीका लागि छुट्टै संयन्त्र निर्माण गरी छलफल प्रक्रिया अगाडि बढाइने जनाएको थियो।
'जापान रोजगारीका सम्बन्धमा दुई देशकै प्राविधिक टोलीको संयुक्त कार्यसमिति निर्माण भइसकेको छ। दुवै पक्षबीच छलफल प्रक्रिया चलिरहेको छ,' श्रम प्रवक्ता नारायण रेग्मीले भने, 'जापानमा कहिलेदेखि र कति कामदार पठाउने भन्ने विषयमा नै छलफल भइरहेको हो।'
मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार हाल दुई देशका संयुक्त कार्यसमितिबीच पत्र आदानप्रदान भइरहेको छ।
‘जापान-नेपालबीच रोजगारका सम्बन्धमा खासै नयाँ प्रगति हुन सकेको छैन,' उनले भने, 'चिठीको निष्कर्ष तत्काल केही आउन सकेको छैन।’
जापान र नेपालबीच गत चैत ११ गते नै श्रम समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। समझदारीपत्रमा हस्ताक्षर भएसँगै दक्ष नेपाली श्रमिकहरु जापान रोजगारीमा सरकारी संयन्त्रमार्फत जान पाउने बताइएको थियो। उक्त पत्रमा नेपाली कामदारलाई जापानी नागरिकसरह काम, तलब तथा अन्य सेवासुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ।
सरकार नै अन्योलमा
जापान रोजगार कहिले खुल्छ भन्ने प्रश्न जताततै उठ्न थालेको छ। तर जापान ठ्याक्कै कहिलेदेखि खुल्छ भन्ने प्रश्नको जवाफ सरकारसँग पनि छैन।
कामदार कुन प्रक्रियाबाट, कुनकुन कामका लागि र कहिलेदेखि पठाउने भन्ने बारेमा सरकारमा नै अन्योल छाएको छ। श्रम प्रवक्ता नारायण रेग्मी भन्छन्, ‘यो कुरा हामीलाई थाहा हुँदैन, संयुक्त समितिको छलफलपछि सबै कुरा टुंगो लाग्छ।’
समितिले कामदार कसरी पठाउने, पहिलो चरणमा कुनकुन कामका लागि पठाउने भन्नेबारे नै छलफल गरिरहेको मन्त्रालयले जानकारी दिएको छ।
भाषा परीक्षाको मोडालिटीबारे लागेन टुंगो
रोजगारका लागि जापान जाने कामदारहरुका लागि भाषा परीक्षाको मोडालिटीबारे सरकारले टुंगो लगाउन सकेको छैन।
जापान जाने कामदारका लागि एनफोर तहको जापानी भाषा आवश्यक पर्ने बताइए पनि भाषाको तह र मोडालिटीबारे टुंगो नलागेको मन्त्रालयका उपसचिव दीपक ढकाल बताउँछन्।
एनफोर तहको जापानिज भाषा सिकेपछि श्रमिकहरुले सामान्य बोलचालको भाषा सजिलै प्रयोग गर्न सक्छन्।
कामको प्रकृति अनुसार भाषा आवश्यक रहेकाले केयरगिभर लगायत कामका लागि भने एनफोर तहभन्दा फरक तहको भाषा आवश्यक पर्ने जानकारहरु बताउँछन्।
जापान जाने कामदारका लागि भाषा अध्ययन कहाँबाट गराउने, कुन तहसम्मको भाषा अध्ययन गराउने भन्नेबारे छलफल भइरहेको मन्त्रालयले जानकारी दिएको छ।
१४ क्षेत्रमा नेपाली कामदार
यसअघि जापानको मन्त्रिपरिषद् बैठकले विदेशी कामदारका सम्बन्धमा नयाँ नीति पारित गरेको थियो। जापानले कृषि, मत्स्यपालन, निर्माण, खाद्य, नर्सिङ, केयरगिभर लगायत १४ वटा क्षेत्रमा विदेशी श्रमिकहरु लैजाने भएको छ।
सोही अनुसार नेपाली कामदारहरु पनि रोजगारका लागि जान पाउनेछन्।
रोजगारका लागि जापान जाने नेपाली श्रमिकहरुले जापानी नागरिकसरह सेवासुविधा तथा पारिश्रमिक पाउने भएका छन्। जापान रोजगारमा जानेले भाषासँगै सिप पनि सिक्नुपर्ने भएको छ।
जापानले दुई तहका कामदार लिने जनाएको छ। सम्बन्धित कामको सिप भएका कामदार र उच्च सिपयुक्त कामदार। अर्धदक्ष अर्थात् सम्बन्धित कामको सिप भएका कामदार जापानमा ५ वर्षसम्म बस्न पाउने उल्लेख छ।
उच्च सिपयुक्त कामदारहरु भने ५ वर्ष काम गरिसकेपछि पनि फेरि उनीहरुको इच्छा अनुसार समय थप गरी जापानमा काम गर्न पाउनेछन्। यस्ता कामदारले आफ्ना परिवारका सदस्यहरु समेत जापानमा लैजान पाउने उल्लेख गरिएको छ।
जापान सरकारले ५ वर्षमा ४ लाख ४५ हजार विदेश कामदार भित्र्याउने लक्ष्य लिएको छ। तर नेपालबाट कति कामदार लैजाने भन्नेबारे टुंगो लाग्न सकेको छैन। जापानमा नेपाली कामदारले मासिक २ देखि ३ लाखसम्म कमाइ गर्दै आएका छन्।
के भन्छन् श्रम विज्ञ?
जापान सरकार र नेपाल सरकारबीच यसअघि पनि सन् २००३ मा जापान इन्टरनेसनलको ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मोडलमा प्रशिक्षार्थी कामदार लैजानेबारे सहमति भएको थियो। तर, जापानसँगको त्यो सहमति अनुसार नेपाली कामदारलाई जापान पठाउन सरकार असफल भएको थियो।
जिट्को मोडलमार्फत सरकारले ३ सयको हाराहारीमा मात्रै रोजगारका लागि कामदार जापान पठाएको सरकारी तथ्यांकमा उल्लेख छ।
अन्तराष्ट्रिय श्रम संगठनको मापदण्ड अनुसार २४ घन्टै बिमा सुविधासहित कामदार जापान पठाउनेबारे भएको समझदारी कार्यान्वयनमा ल्याउन सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने श्रम विज्ञहरुको भनाइ छ।
जापानसँग नेपाल सरकारले श्रम समझदारी निकै महत्वपूर्ण रहेको श्रम विज्ञहरु बताउँछन्। श्रम विज्ञ गणेश गुरुङ भन्छन्, ‘सरकारले जोखिमपूर्ण खाडीमा नेपाली कामदार पठाउन कम गर्दै जापान जस्ता मुलुकसँग श्रम समझदारी गरी कामदार पठाउन पहल गर्नु निकै महत्वपूर्ण काम हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।