काठमाडाैं- नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले 'अघिल्लो आर्थिक वर्षको भन्दा चालू आर्थिक वर्षमा बजेट खर्च किन कम भएको हो?' भन्ने प्रश्नको जवाफ अर्थमन्त्रीले दिन नसकेको धारणा राखेका छन्।
'विनियोजन विधेयक २०७६' माथिको छलफलका क्रममा आज संसदमा बोल्दै नेता रिजालले चालू आर्थिक वर्ष सरकारले भनेजस्तो इतिहास रच्ने आधार वर्ष हुन नसकेको पनि धारणा राखे। ‘इतिहास कै सबैभन्दा तीव्र विकास हुने आधारहरु विनियोजन विधेयकमा देखिएनन्। प्राथमिकताका क्षेत्र देखिएनन्, सिद्धान्त देखिएनन्। तर, सरकारले त्यही भन्दैछ’, उनले भने।
अघिल्लो आवको तुलनामा चालू आवको १० महिना अवधिमा पूँजीगत खर्च कम रहेको भन्दै रिजालले किन यस्तो भएको हो भनेर अर्थमन्त्रीलाई प्रश्नसमेत गरेका छन्। ‘अघिल्लो वर्षको १० महिनामा भन्दा चालू आवको १० महिना अवधिमा पुँजीगत खर्च कम भएको छ। दुई तिहाईको सरकारले अर्थतन्त्रलाई अल्मल्यायो कि अगाडि बढायो? त्यति सोध्न चाहान्छु’, रिजालले प्रश्न गरे।
अघिल्लो आर्थिक वर्ष १० महिना अवधिमा १ खर्ब २८ अर्ब रुपैयाँ बराबर पूँजीगत खर्च भएको थियो भने यो वर्ष १ खर्ब १९ अर्ब बराबर मात्रै खर्च भएको छ। सुरुमा ३ खर्ब १४ अर्ब रुपैयाँ बराबर पुँजीगत खर्च गर्ने सरकारको लक्ष्य भएपनि त्यसलाई संशोधन गरेर अहिले २ खर्ब ६५ अर्ब बराबर मात्रै खर्च गर्ने लक्ष्य राखिएको छ।
‘सरकारको संशोधित बजेट खर्च गर्नका लागि पनि ६० दिनमा १ अर्ब ४६ अर्ब कुन गतिले खर्च गर्ने हो? विश्वास गर्ने आधार छैन। फेरि यही बेलामा खर्च हुन सकेको छैन, आन्तरिक ऋण उठाउने भनेर सरकार लागि परेको छ। भएको रकम खर्च गर्न नसकेर आन्तरिक ऋण किन उठाउन खोजेको हो? के प्रयोजनका लागि आन्तरिक ऋण उठाउन लागिएको हो, अर्थमन्त्रीले स्पष्ट बनाउनुपर्छ’, रिजालकाे माग थियाे।
चालू आर्थिक वर्षलाई हेर्ने हो भने २ खर्ब १० अर्बभन्दा बढी स्थानीय तहमा बजेट विनियोजन भएको थियो। १ खर्ब २८ अर्ब रुपैयाँ बराबर पूँजीगत खर्च स्थानीय तह र प्रदेशले गर्ने भनेको थियो। तर, त्यस्तो रकम कहाँ कसरी खर्च भयो भनेर सरकारसँग हिसाब-किताब नरहेको उनको भनाइ छ।
‘स्थानीय निकाय र प्रदेशले गर्ने खर्च कहाँ पुग्यो? कसरी खर्च भइरहेको छ, त्यस बारेमा संसदलाई जानकारी छैन। त्यसको जवाफ अर्थमन्त्रीले दिन सक्नुभएन। बजेटको प्राथमिकता र सिद्धान्तले त्यो खोज्थ्यो। तर, उहाँले त्यसलाई कहीं कतै समेट्नु भएन’, उनले असन्तुष्टि पाेखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।