काठमाडाैं- पूर्वअर्थमन्त्री तथा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अर्थमन्त्रीले राजनतिक पूर्वाग्रह नराखी यर्थाथपरक हुन आवश्यक रहेकाे बताएका छ। संघीय संसदकाे प्रतिनिधिसभामा भइरहेकाे पूर्व बजेट छलफलमा सहभागी हुँदै उनले यसअघिका सरकारले ल्याएका राम्रा कार्यक्रमहरु बजेटबाट हटाइएकाेमा असन्तुष्टि जनाए।
जेठ १५ गते सार्वजनिक हुने आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट निर्माणका लागि अर्थमन्त्री डा युवराज खतिवडाले 'बजेट विनियोजन विधयेक, २०७६' संसदमा शुक्रबार प्रस्तुत गरिसकेका छन्। साेही विधेयकमाथि नेता कार्कीले दिएका सुझावहरु:
सरकारले गत वर्षका गतिविधिहरुलाई उपलब्धीको रुपमा बढाई-चढाई गरी प्रस्तुत गरेको छ।
चुनौती सम्बाेधनको प्रयास गरिएको छैन। सरकारले चालू आवमा ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको थियो। तर, ६.८१ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हासिल हुने अवस्था देखिएको छ। यो मेरोभन्दा पनि केन्द्रीय तथ्यांक विभागको अनुमान हो। यसमा पनि मौसमका कारण कृषिमा भएको उपलब्धीले महत्वपूर्ण भूमिका खेलको छ।
यसैगरी विद्युतको निर्यात/आपूर्ति तथा भूकम्पपछिको निर्माणले पनि सहयोग गरेको देखिन्छ।
व्यापार घाटा बढ्दो छ। यस वर्षको बजेट बराबरको बजेट घाटा हुने अवस्था देखिएको छ। यसलाई रेमिट्यान्सले केही हदसम्म परिपूर्ति गरेको छ। तर, यो दिर्घकालिन समस्या समाधानको विषय हाेइन।
अर्थमन्त्रीले राजनतिक पूर्वाग्रह नराखी यर्थाथपरक हुन आवश्यक छ। स्वेतपत्र जारी गर्दै देशको अर्थतन्त्र बिग्रिएको अवस्था देखाउनु भएको थियो। आज कुन चमत्कार गरेर यो सफल भएको हो। विदेशमा सम्बोधन गर्दैगर्दा एउटा तथ्यांक देखाउने र देशभित्रको सम्बोधनमा झुटा विवरण तथा तथ्यांक देखाएर राजनितिक पूर्वाग्रह देखाउने प्रवृति छोड्नुपर्ने हुन्छ।
देउवा सरकारले सामाजिक सुरक्षा भत्तामा ल्याएको ६५ वर्षकाे व्यवस्था र अन्य विषय पनि समावेस गुर्न आजको आवश्यकता हो।
बजेट अनुशासनको विषय पनि भरपर्दो रहेको छैन। अनावश्यक शिर्षकका बजेट खर्च भएको छ। यो बन्द गर्नुपर्छ।
राजस्व प्रणालीलाई मितव्ययी बनाउने भनिएको छ। तर, कुनै खाका छैन। नाराको आधारमा हैन, वास्तविकताको आधारमा मुलुकको अर्थतन्त्रलाई दिगो विकासमा अगाडि बढाउन कदम चलाउनुपर्छ।
हामी देशको सम्वृद्धि र नेपाली जनताको सुख र उन्नतीमा सँधै सरकारको साथमा हुनेछौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।