काठमाडाैं- केरुङ-काठमाडाैं रेल मार्ग निर्माणमा हतार नगर्न विज्ञहरुले सुझाव दिएका छन्।
साझा विवेकशील पार्टीले शनिबार गरेको केरुङ-काठमाडाैं रेल बहस कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थविद् शंकर शर्माले रेलमार्ग निर्माणका लागि आवश्यक पर्ने लगानी तथा निर्माणको मोडल स्पष्ट नभइकन त्यस विषयमा हतार नगर्न सुझाव दिए।
रेलमार्ग निर्माणको सम्बन्धमा चीन सरकार पनि स्पष्ट नभएको आफूले पाएको भन्दै उनले पहिलो प्राथमिकता सडक सञ्जालको विस्तारलाई दिन सरकारलाई सुझाए।
अर्थविद् शर्माले अर्थशास्त्रीय सिद्धान्तले एउटै देशसँगको निर्भरतालाई जोखिमयुक्त मान्ने गरेकाले विकल्प खोज्नु आवश्यक भएपनि केरुङ-काठमाडाैं रेल मार्ग निर्माण पूर्व थुप्रै विषयमा स्पष्ट हुनु जरुरी रहेको धारणा राखे।
साझा विवेकशील पार्टीका प्रवक्ता तथा पूर्वाधारविद् डा सूर्यराज आचार्यले केरुङ-काठमाडाैं रेल सञ्चालनबाट प्रत्यक्ष लाभान्वित नेपाल वा छिमेकी मुलुक भन्नेमा स्पष्ट हुनुपर्ने आवश्यकता औंल्याए। उनले रेलमार्गले ल्याउने भू-राजनीतिक तरंग लगायतका विषयमा वस्तुगत बहस गर्नुपर्नेमा जोड दिए।
विज्ञहरुले तत्कालका लागि चीनबाट रेल आउने विषयलाई प्राथमिकता दिनुभन्दा त्यसले प्रभाव पार्ने विविध पक्षको अध्ययन गरी आन्तरिक सडक पूर्वाधारमा जोड दिई योजनाबद्ध ढंगले निर्णय गर्न सुझाव दिँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।