जनकपुर- नेपाल रेल्वे विभाग र भारतको कोंकण रेल्वेबीच रेल खरिद गर्ने सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ। जयनगर–जनकपुर–कुर्था रेल्वे सञ्चालनका लागि रेल आवश्यक भएकाेले सो सम्झौता गरिएकाे हो।
नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीको उपस्थितिमा दुवै देशका रेल्वेसम्बद्ध अधिकारीहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
भारतीय रेल्वे मन्त्रालय अधिनमा रहेकाे भारत सरकारको सार्वजनिक क्षेत्र उफम (पिएसयू)अन्तर्गत कोंकण रेल्वे लिमिटेड(केआरसिएल) र नेपाल सरकारको रेल्वे विभागबीच भएको खरिद सम्झौतामा जयनगर–कुर्था रेल्वे सञ्चालनका लागि कोंकण रेल्वेले २ वटा 'एचपी डेमाे रेल' नेपाललाई आपूर्ति गर्ने उल्लेख छ।
सम्झौतामा उल्लेख भएअनुसार आपूर्ति गरिने प्रत्येक रेल सेटमा एउटा ड्राइभिङ पावर कार, एउटा वातानुकूलित सहित ३ वटा ट्रेलर कार, अत्यावश्यक सामग्रीका साथ एउटा ड्राइभिङ ट्रेलर कार रहनेछन्।
ती रेल सेटको निर्माण भारतीय राज्य तमिलनाडुस्थित चेन्नईको एकीकृत कोच कारखानामा गरिनेछ।
भारत–नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत भारतको वित्तीय अनुदानबाट भारत सरकारको पिएसयू इरकानले ३४ किलोमिटर दूरीको जयनगर–कुर्था रेल्वे सञ्जाल निर्माण गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।