काठमाडौं- श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाली दूतावासले मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्था ३७ वटा मात्रै रहने उल्लेख गर्दै पठाएको पत्रबारे बेखबर रहेकाे जनाएकाे छ।
एक महिना अगाडि अप्रिल ८ अर्थात् चैत २५ गते दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रबारे केही जानकारी नभएको श्रम प्रवक्ता नारायण रेग्मीले जानकारी दिए। प्रवक्ता रेग्मीले भने, 'हामीलाई पत्रबारे जानकारी छैन, त्यसबारे परराष्ट्रले नै छानबीन गर्ला।'
दूतावासले परराष्ट्र मन्त्रालय र मेडिकल व्यवसायी कैलाश खड्कालाई सम्बोधन गरी एकै दिन पठाएको पत्रमा मलेसिया जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने पुरानै ३७ संस्थाहरु मात्रै रहने उल्लेख छ।
श्रम मन्त्रालयले भने यस अगावै गत चैत १८ गते मलेसियाले मापदण्ड पठाएको भन्दै सोही मापदण्ड भित्रका स्वास्थ्य संस्थाहरुलाई आवेदनका लागि सार्वजनिक सूचना जारी गरेको थियो।
एक महिना अघि नै पठाइएकाे पत्र बिहिबार मात्रै सार्वजनिक भएकाे थियाे।
पत्रबारे नेपाल लाईभले बिहीबार समाचार प्रकाशित गरेपछि श्रम मन्त्रालयले शुक्रबार ध्यानकर्षण भएको जनाएको हाे।
शुक्रबार एक विज्ञप्ति जारी मन्त्रालयले गत कात्तिक १२ गते मलेसिया र नेपाल सरकारबीच भएको श्रम समझदारीअनुसार मलेसिया जाने कामदारहरुको स्वास्थ्य परीक्षण हुने दाबी गरेको छ। तर, परराष्ट्र मन्त्रालय र नेपाल मेडिकल व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालाई सम्बोधन गर्दै पठाएको पत्रबारे केही पनि उल्लेख गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।