काठमाडाैं- एघार विद्यार्थी सङ्गठनकाे संयुक्त पत्रकार सम्मेलन सकिए लगत्तै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार सम्मेलन स्थल अखिल क्रान्तिकारीकाे केन्द्रीय कार्यालय बागबजारबाट उनलाई पक्राउ गरिएकाे हाे।
निजी शैक्षिक संस्थाले गरेकाे शुल्कवृद्धिका सम्बन्धमा ११ विद्यार्थी संगठनले गरेकाे निर्णय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलन सकिए लगत्तै अध्यक्ष ढकाललाई पक्राउ गरिएकाे हाे।
सरकारले विप्लव नेतृत्वकाे नेकपामाथि प्रतिबन्ध लगाएसँगै उसका नेता तथा कार्यक्रताहरु पक्राउ पर्ने क्रम चलिरहेकाे छ। साेही क्रममा ढकाललाई पनि पक्राउ गरिएकाे हाे।
शुल्कवृद्धि फिर्ता गर्न ११ विद्यार्थी संगठनकाे माग
निजी शैक्षिक संस्थाले गैरकानुनीरुपमा ४० प्रतिशतसम्म गरेको शुल्कवृद्धि तत्काल फिर्ता गर्न ११ विद्यार्थी संगठनले माग गरेका छन्। पत्रकार सम्मेलनमा सङ्गठनहरुको तर्फबाट नेविसङ्घका पूर्वउपाध्यक्ष ऋषिकेशजङ्ग शाहले शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन अनाधिकृतरुपमा वृद्धि गरिएको शुल्क खारेज गर्न आग्रह गरे।
सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्न कूल बजेटको २५ प्रतिशत वृद्धि गर्न माग गरिएको छ। राज्यकोषबाट तलब प्राप्त गर्ने सबै सेवाका राष्ट्रसेवकले आफ्ना सन्ततिलाई अनिवार्यरुपमा सरकारी शैक्षिक संस्थामा पढाउनुपर्ने र निजी शैक्षिक संस्था सञ्चालन गर्न नपाउने व्यवस्थाको उल्लेख गर्न माग गरिएकाे छ।
विज्ञप्तिमा मापदण्डभन्दा बढी लिएको शुल्क मेडिकल कलेजलाई तत्काल फिर्ता गर्न लगाई जनताको प्रतिव्यक्ति आयका आधारमा वैज्ञानिक शुल्क निर्धारण गर्नसमेत माग गरिएको छ।
राज्यसत्ताकाे दुरुपयाेग हुनेगरी भएका विभिन्न भ्रष्टाचार र घाेटालामा संलग्न सबैलाई कारबाहीकाे दायरामा ल्याउन समेत उनीहरुले माग गरेका छन्।
विद्यार्थी संगठनकाे प्रेस विज्ञप्ति:

(पक्राउकाे तस्बिर : देशसञ्चार)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।