काठमाडाैं- अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद कार्यालयको कामकारबाही प्रभावकारी हुन नसकेको ठहर गरेको छ।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले वाइडबडी विमान खरिद प्रकरणको छानबिन गर्न गठित उपसमितिले अध्ययनका क्रममा सार्वजनिक खरिद कार्यालयको कामकारबाही सन्तोषजनक नभएको निष्कर्ष निकालेको हो।
वाइडबडी विमान खरिद प्रक्रियासँग जोडिएका संघसंस्था र निकायसँगको छलफल र अनुगमनको क्रममा उपसमितिले सार्वजननिक खरिद कार्यालय स्रोतसाधनको चरम अभावमा रहेको र सोही कारण प्रभावकारी ढंगले काम गर्न नसकेको फेला पारेको हो। सार्वजनिक खरिदका विषयमा नया ऐन आवश्यक रहेको वा संशाेधन गर्नुपर्ने तथा नीतिगत अन्य परिर्वतनका सामान्य विषयमा पनि कार्यालयले गृहकार्य नगरेको पाइएको उपसमिति संयोजक दिपक भट्टले जानकारी दिए।
समितिको बुधबारकै बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडिया र भियतनाम भ्रमणबारे समितिलाई जानकारी गराएका छन्। भियतनाम भ्रमणबाट त्यहाँको आर्थिक विकासको गतिबारे जानकारी लिनुको साथै २ मुलकबीच प्रत्यक्ष हवाई सेवा जोड्ने तथा दुबै देशका कूटनीतिक र सरकारी राहदानी वहाकहरुलाई भिषा फ्री गर्ने लगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए।
बैठकमा समिति सदस्य भीम रावलले बेलायती गोर्खा सैनिकहरु र नेपालको सीमा क्षेत्र सुरक्षाका विषयमा यसअघि गरेको निर्देशन कार्यान्वयनबारे मन्त्रालयको ध्यानाकर्षण गराएका थिए।
बैठकमा धारणा राख्ने समिति सदस्यहरुले अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा आएका सुझावलाई सत्ता पक्ष र प्रतिपक्ष दलको रुपमा नहेरी राष्ट्रहितको रुपमा लिएर कार्यान्वयन गर्न सुझाव दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।