कसैले कागले कान लग्यो भनिदियो भने कागका पछाडि कुद्ने कि आफ्नो कान छाम्ने?
हल्लाका पछि दौडिनु हुँदैन भन्ने बुझाउन नेपालीभाषीले सबैभन्दा बढी प्रयोग गर्ने उक्ति सम्भव यही होला।
फिल्म क्षेत्रमा यो उक्ति सान्दर्भिक बनेको छ, दुई दिनदेखि। एउटा नाम नचलेको युट्युब च्यानलले भ्युअर्स बढाउन लेखिदियो– ‘ऋचा शर्माले छक्कापञ्जा हेरेर ताली बजाउने दर्शकलाई मूर्ख भनिन्।’
तर, उसले शीर्षक बंग्याएर सनसनीखेज बनाए पनि ऋचाले बोलेको भिडियो जस्ताको तस्तै राखिदियो। भिडियो हेर्ने धैर्य भएकाहरु अलमलिने कुरा भएन। जसले भिडियो पूरै हेरे, उनीहरुले आफ्नो कान छामे। हावादारी कुरामा नउडेर चुपचाप बसे।
दोस्रोथरीले शीर्षक मात्रै हेरेर फेसबुक स्टाटसमा गाली वर्षाउन थाले। अर्काेथरी कहाँ, के र कसरी त्यो कुरा आयो भन्ने समेत थाहा नभई त्यही स्टाटस कपी–पेस्ट र सेयर गर्न थाले।
दीपकराज गिरीले फेसबुकमा ऋचाको मानसिक सन्तुलन ठीक नभएको आशयसहित लेखेका थिए, ‘एकजना नायिकाले हाम्रो चलचित्र हेरेर ताली बजाउने दर्शकलाई मूर्ख भन्नुभएछ। प्रिय नायिकाज्यू, दर्शकलाई मूर्ख भन्नुभएकाले तपाईंका फिल्मले कहिल्यै दर्शक पाएनन्, गेट वेल सुन !’

त्यसलाई दीपाश्री निरौलाले कपी–पेस्ट हानिन्। यसरी कौवाले कान लग्यो भन्दा पछि–पछि दगुर्नेहरुमा अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का, गौरव पहारी, वर्षा राउतलगायत पनि थपिए।
ऋचाले उक्त भिडियोमा भनेकी छिन्– ‘छक्का पञ्जा’मा महिलालाई दैनिक पिट्न पाउनुपर्छ भनिएको छ। जुन दृश्य हेरेर दर्शकहरु खुब हाँसे र ताली पनि पिटे। दर्शक रमाएको देखेर लाग्यो, देखाउन हुने सामान्य कुरा देखाएको हो त? तर महिला, पुरुष सबै रमाएको देखेर मलाई चाहिँ रिस उठेको थियो।’
उक्त कुरा त्यो समयमा फिल्मकी निर्देशक दीपाश्रीलाई पनि बताएको ऋचाले उल्लेख गरेकी छिन्।
उनले माथिको कुरा एउटा फिल्म महोत्सवमा ‘नेपाली फिल्ममा महिला’ शीर्षकको छलफलमा बताएकी थिइन्। विषय नै महिलाबारे भएपछि फिल्ममा महिलासँग जोडिएको प्रसंगबारे उनले त्यति सन्दर्भ झिक्नु स्वाभाविकै थियो।
तर, यो प्रकरणले मोड भने अस्वाभाविक लियो। अहिले फिल्मकर्मीहरु दुई खेमामा बाँडिएका छन्।
म भने यतिबेला भैरव अर्यालको ‘कौवाले कान लैजाँदा’ निबन्ध सम्झिरहेको छु।
निबन्ध यस्तो छः
‘कौवाले कान लग्यो भनी कसैले भनिदियो भने कौवासितै कुद्ने कि आफ्नो कान छाम्ने?’ एकदिन गुरुले हामीसित सोध्नुभयो।
एउटाले भन्यो, ‘कौवाले कानै लगिसकेपछि पनि छामछुम गरेर अलमलिनु हुन्छ? कुदिहाल्नुपर्छ। कौवालाई समातेर एक थप्पड दिई कान खोसिहाल्नु पर्छ। नत्र त भागिहाल्छ नि।’
अर्काेले भन्यो, ‘खोस्लास् कान! कान लिएर कौवा उडिहाल्छ, आफू उड्न सकिँदैन। फेरि कौवा यस्तो बाठो हुन्छ कि हामीले भेट्टाउने ठाउँमा कान राख्दै राख्दैन। त्यसैले कौवाले कान लग्यो भने खोसेर ल्याउन कसैका बाबुको तागत चल्दैन, ऊ रूखको टुप्पामा बसेर हामीलाई देखाई देखाई कान खाइदिन्छ । ऊसित कुद्नुभन्दा चुप लागेर बस्नु बेस।’
गुरुले भन्नुभयो, ‘कुरा दुबैका ठीक हुन्। तर मलाई ठीक लागेन।’
मैले भनेँ, ‘कौवाले कान लग्यो भनी कसैले भन्दा ‘कान लग्यो, कान लग्यो’ भनी कराउँदै कौवाको पछि–पछि दौडने दौडँदै गरून्। हरे शिव! मेरो कान लगिदियो भनी पिँढीमा बसेर रूने रूँदै गरून्। तर, म त कराएर कुद्दा पनि कुद्दिनँ, बिलौना गरेर रून पनि थाल्दिनँ। के तँ कान छाम्न थाल्छस त भन्नुहोला, तर म कान पनि पहिल्यै छामिहाल्दिनँ। किनभने कसैले केही भन्यो भन्दैमा आफूले केही सोच्दै नसोची पत्याउने मान्छे बुद्धु, हुस्सु हो र केटाकेटी हो।
त्यसैले कौवाले कान लग्यो भनी मलाई कसैले भन्यो भने म सबैभन्दा पहिले उसैसित सोध्छु, ‘तिम्रो कान लगेको कि मेरो कान हँ?’ अनि ऊ स्वयं अकमक्क पर्छ। मेरो भनाइको मतलब के भने कसैले केही भन्यो भने सबैभन्दा पहिले उसले भनेको कुरा सम्भव छ कि असम्भव छ त्यो सोच्नुपर्छ। असम्भव भए कुरै सक्किगयो, सम्भव भए यसो छाम्ने सोध्नेतिर लाग्नुपर्ला। तर, कौवाले कान लग्यो भन्ने समाचार बिलकुलै असम्भव हो। त्यसैले कौवासित दगुर्ने कि कान छाम्ने भन्ने प्रश्नै उठ्तैन।
मेरो जवाफ सुनेर गुरु हाँस्नुभयो। तर, एउटाले प्रश्न झिक्यो, ‘दुनियाँमा असम्भव भन्ने कुरा के छ र रु कौवा जस्तो चलाख चराले कुनै मान्छेको कान लैजान के बेर?’
अर्काेले पुष्ट्याइँ दियो, ‘हो, के बेर? कान भन्ने अंग नै यस्तो अप्ठ्यारो ठाउँमा छ कि आफ्नो आँखाले देख्नै सकिँदैन । फेरि यो सानो मालपुवा जस्तो मासुको लोत्रो छ । कौवाले मालपुवा नै सम्झेर ठुङ्न पनि सक्छ। चुच्चाले लोती च्यापेर थुती भुर्र उड्न पनि सक्छ, कानलाई कसले खोल हालेर राखेको छ र?’
तर्क उसको पनि ठीकै हो।
मैले भनेँ, ‘शिरको खोल टोपी र खुट्टाको खोल जुत्ता जस्तो कानको कुनै खोल छैन। बूढाबूढी र केटाकेटीले कानेटोपी लाएकाले उनीहरूको कान कौवाले लैजाने डर नहोला तर हाम्रो कान कौवाले लैजान के असम्भव रु म पनि एकछिन नाजवाफ हुन्छु। तर मेरो बुद्धिले भन्छ– दुनियाँमा असम्भव के छ र? कौवाले ज्युँदो मान्छेको कान लैजानु बिलकुल असम्भव छ । आफ्नो जिउको कान कौवाले कसरी उप्काउन सक्छ रु कसरी चुपो लागेर सहन सक्छ? बिलकुल असम्भव। नांगाको कुरा गर्ने हो भने नाक पनि त नांगै हुन्छ, कौवाले नाक नलगेर कानै ताक्नुपर्ने किन? मान्छेको कान कौवालाई के काम ? काम लाग्छ ? यसभन्दा अघि कसैको कान कौवाले लगेको थियो कि थिएन रु इत्यादि प्रश्नहरू उठ्छन्। सबै विचार गर्दा कौवाले कान लैजाने कुरा कत्ति पनि सम्भव लाग्दैन। त्यसैले कराएर भन्छु– कौवाले ज्युँदो मान्छेको कान लान किमार्थ सक्तैन। यो प्रश्नमा सोच्नु मात्र पनि एउटा हुस्सुपन हो।’
गुरुले मलाई स्याबासी दिँदै भन्नुभयो, ‘ठीक भन्यौ। कसैले केही भन्यो भने तुरून्तै पत्याइहाल्नु मुनासिव छैन। भनेको कुरा ठीक हो कि होइन भनी सोच्नुभन्दा पहिले भन्ने मान्छे ठीक हो कि होइन भनी सोच्नुपर्छ । समाजमा सबै मान्छे ठीक हुँदैनन्। बौलाहा, फटाहा, हुल्याहा, छुल्याहा मान्छे पनि यहाँ कम छैनन्। यस्ता मान्छेले सम्भव कुरा सुनाए भने पनि एकपटक राम्ररी नसोची पत्याउन सकिँदैन। मान्छे त सद्दे नै हो तर जाँड खाएर आएको रहेछ भने अथवा गाँजाले लठ्ठिएको रहेछ भने त्यस्ताको कुरा पनि कसरी पत्याउने ? त्यसैले कौवाले कान लग्यो भन्ने कुरा पत्याउनुभन्दा अघि त्यो भन्ने मान्छे कस्तो हो, उसले भट्टीबाट फर्कंदा भनेको हो कि ठट्टामा भनेको हो, त्यो पनि ठम्याइहाल्नुपर्छ।’
‘गुरुले भनेको पनि राम्रो हो। तर, मान्छे चिन्ने उसको परिस्थिति विचार गर्ने र भनेको कुरा सम्भव हो कि होइन सोच्ने शक्ति सबैमा कहाँ हुन्छ र?’ धेरैजसो अशिक्षित दाजुभाइ जसले जे भन्यो, पत्याइहाल्छन् । टाढाको कुरा किन रु साक्षात् दश हात भएकी भगवती प्रकट भइन् भनेर कसैले सुनाइदियो भने हो कि होइन भन्ने सोच्दै नसोची हाम्रा आमाहरू पूजासामान बोकेर दगुर्नुहुन्छ। पर्सि प्रलय हुन्छ भनेर सुनाइदिनू, कति मान्छे घर छाडेर बारीका पाटामा पाल टाँग्न थाल्छन्। यसरी समाजको अधिकांश भाग लहैलहैमा कुद्छ। अन्धविश्वास र रूढीको जन्मदाता पनि यस्तै लहैलहै हुन्। त्यसैले समाजमा बराबर यो प्रश्न दोहो¥याइरहनुपर्छ– कौवाले कान लग्यो भने कौवासित कुद्ने कि कान छाम्ने?’
गुरु भन्नुहुन्छ, ‘हो, यस प्रश्नले मान्छेलाई लहैलहैमा कुद्ने होइन, सोचेर मात्र काम गर्नुपर्छ भन्ने संकेत दिन्छ। मान्छेले दिमाग पाएकै सोच्नको निम्ति हो, सम्भव र असम्भव छुट्याउनको निम्ति हो, सत्य र असत्य ठम्याउनको निम्ति हो। तर यो केही नगरी जसले जे भनिदियो, त्यही लहैलहैमा लागेर कुद्छ भने उसको कान मात्र होइन, गिदी पनि कौवाले लगेछ क्यार भन्नुपर्छ। होइन भने ज्युँदो मान्छेको कान लैजान कौवा छुसीको के तागत?’
अन्त्यमा, हामी यही निष्कर्षमा पुग्यौं– जसले जे भन्यो पत्याउन थाल्यो भने मान्छे बेकम्मा हुन्छ, बौलाहा हुन्छ। आज एउटाले कौवाले कान लग्यो भनिदियो, भोलि अर्कोले भँगेरोले भुँडी लग्यो भनिदेला। यसैगरी पर्सि कोही चीलले आँखा लग्यो भन्न आउला त निकोर्सि चमेराले जिब्रै कुदाएको समाचार आउला। अनि क–कसका पछाडि दगुर्ने? त्यसैले कौवाले कान लग्यो भनी कसैले भन्दैमा हामीले कौवाको पछि–पछि लहै–लहै भन्दै दगुर्नु पनि हुँदैन, साँच्चै लग्यो त भनी कान छाम्न पनि पर्दैन। सबभन्दा पहिले त हामीले यही सोच्नुपर्छ, कौवाले हाम्रो कान लान सक्छ कि सक्तैन।
***
त्यो समय भैरव अर्यालले नेपालीको स्वभावमाथि लेखिएको यो निबन्ध आज पनि उत्तिकै सान्दर्भिक छ। फरक त्यत्ति हो, हिजो यस्तो हल्ला कानबाट कानसम्मै पुग्थ्यो र फैलिन्थ्यो। मान्छे त्यसैका पछि दगुर्थे। आज माध्यम थपिएका छन्। एउटा फेसबुक वालबाट अर्काका वालसम्म, एउटाको ट्विटरको टाइमलाइनबाट अर्काको टाइमलाइसम्म फैलिन्छन्। मान्छे औंला कुदाउँछन्।
त्यसैले कौवाको पछि दौडिनुअघि कान छाम्ने होइन, भैरव अर्यालले भनेजस्तै ‘कौवाले हाम्रो कान लान सक्छ कि सक्तैन’ भन्ने पनि विचार पु¥याउनुपर्छ। नत्र त सोच्नैपर्छ, कान होइन, गिदी पो कौवाले लिएर गयो कि?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।