हेलम्बु (सिन्धुपाल्चोक)- हेलम्बुका छिरिङ शेर्पा उमेरले ६५ वर्ष पुगे। यसअघि ३ वटा निर्वाचनमा भाग लिँदै उनले मतदान गरिसकेका छन्। तर यस पटक विगतका भन्दा बढी मतपत्र हुने र धेरै स्थानमा मत दिनुपर्ने हुँदा मत बिग्रन्छ कि भन्ने पिरमा छन् उनी।
प्रदेश र प्रतिनिधिसभा गरी २ निर्वाचन क्षेत्र हुने र त्यहाँ कति वटा, ककसलाई मत हाल्ने भन्नेमा उनी अझै स्पष्ट हुन सकेका छैनन्।
समानुपातिक र प्रत्यक्षतर्फ मत दिनुपर्छ भन्ने सुनेको तर कसैले पनि यसबारे नसिकाएको उनले बताए।
हेलम्बु मेलम्चीबाट ३ घन्टाको पैदल दुरीमा पर्छ।
भोटेचौरका माइला मिजार पनि मतदान कसरी गर्ने भन्ने अन्योलमा छन्। आफूले चाहेको उम्मेदवारलाई मत दिँदा खेर गए त्यसको अर्थ नहुने भएकाले उनलाई चिन्ता लागेको छ।
यसअघि जस्तो एउटा मात्र चिह्नमा मत हाल्ने नभई धेरै मतपत्र र धेरै चिह्नमा हाल्नुपर्ने हुँदा आफू अलमलमा परेको उनले गुनासो पोखे।
प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४ ठाउँ मत हाल्नुपर्ने आफूले सुने पनि कर्मचारीले नसिकाएको उनी बताउँछन्।
मतदाता शिक्षा नपाएर अन्योलमा परेका यी २ पात्र मात्रै होइनन्। जिल्लाभर मतदान कसरी गर्ने भन्नेबारे ज्ञान नभएका मतदाताको संख्या निकै छ। निर्वाचन आयोगले मतदान शिक्षा कार्यक्रम सुरु गरे पनि उक्त अभियान सहरकेन्द्रित मात्र देखिन्छ। विकट गाउँका मतदातासामु समयमै मतदाता शिक्षा पुग्न सकेको छैन।
मतदानबारे सिकाउन दलका कार्यकर्ता गाउँगाउँ त पसेका छन् तर उनीहरुले आफ्नै पार्टीको चुनाव चिह्नका लागि प्रोत्साहित गर्ने गरेका छन्।
सिन्धुपाल्चोकका प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि ४ निर्वाचन क्षेत्र छन्।
जिल्लाका सबै वडामा मोटरबाटो पुगेको छैन। एक दिनसम्म हिँडेर पुग्नुपर्ने स्थान पनि भएकाले मतदान शिक्षा दिने कार्य सहज रुपमा विकट गाउँसम्म पुग्न सकेको छैन।
आयोगबाट खटिएका कर्मचारीहरुले बजारकेन्द्रित क्षेत्रमा मात्र मतदान गर्ने तरिका सिकाएको देखिन्छ। अधिकांश हिमाली वडामा मतदाता शिक्षाबारेमा जानकारी दिन आयोगका कर्मचारी नपुगेको राजनीतिक दलका नेताहरु स्विकार्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।