मेलम्ची– राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेरको चुनावी अभियानमा खटिएकी उनकी कान्छी छोरी देवयानीमाथि माओवादी केन्द्रका कार्यकर्ताले दुर्व्यवहार गरेका छन्।
स्थानीय कांग्रेस नेताको घरमा जाने क्रममा माओवादी कार्यकर्ताले अवरोध र दुर्व्यवहार गरेको देवयानीले बताएकी छिन्। नेपाल लाइभसँग कुरा गर्दै उनले भनिन्, ‘चौतारा साँगा चोक गढी–७ कल्लेरीस्थित कांग्रेसका नगर सभापति यज्ञप्रसाद दंगालको घरमा चिया खान जाँदै गर्दा माओवादीले अवरोध गरे। अवरोध गर्दै आक्रमण गर्न खोजेपछि चौतारा फर्किएँ।
झन्डा र सुरक्षाकर्मीबिना आफू त्यसतर्फ गएको र थुप्रै मोटरसाइकल लिएर पछ्याउँदै आएका माओवादी कार्यकर्ताले दंगालको घर नजिकै पुग्न लाग्दा रोक्ने प्रयास गरेको उनले बताइन्। माओवादीको अवरोधका कारण चौतारा फर्किएकी राणा सुरक्षाकर्मी साथमा लिएर दोस्रो प्रयासमा दंगालको घर पुगेकी थिइन्।
पार्टीसँग सल्लाह गरेर घटनाबारे प्रशासनमा उजुरी गर्ने तयारी भइरहेको देवयानीले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।