काठमाडाैं- नेपालमा ४४ दशमलब ०७ प्रतिशत श्रमिकलाई रोजगार सम्झौता नगरी काममा लगाउने गरेको पाइएको छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको श्रम कानुन कार्यान्वयनको अवस्थासम्बन्धी सर्वेक्षणमा ४४ दशमलब ०७ प्रतिशत श्रमिकलाई रोजगार सम्झौता नगरी काममा लगाउने गरेको पाइएको उल्लेख गरिएको हो।
मे दिवसको अवसर पारेर ५९ वटा उद्योग/प्रतिष्ठानहरुमा गरेको सर्वेक्षणमा ६१ प्रतिशत श्रमिकहरु नियमित रोजगारीमा रहेको पाइएको पनि जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए। सरकारले बालश्रम निर्मुल गर्ने लक्ष्य लिएको भएपनि अझै पनि ठूला भनिएका औद्योगिक प्रतिष्ठानहरुमा ३ दशमलब ३९ प्रतिशत बालश्रमिकहरु रहेको पनि सो सर्वेक्षणमा उल्लेख गरिएको छ।
सर्वेक्षणमा श्रम ऐनले तोकेको भन्दा बढी काम गर्न बाध्य पार्नेहरुको संख्या पनि उल्लेख्य रहेको देखाएको छ। अध्यक्ष श्रेष्ठले सर्वेक्षणमा संलग्नमध्ये ५९ दशमलब ३२ प्रतिशत श्रमिकहरुले तोकिएको समयभन्दा बढी काम गरेको पाइएको पनि जानकारी दिए।
'श्रम ऐन, २०७४' ले श्रमिकलाई दैनिक ८ घण्टा र साप्ताहिक रुपमा ४८ घण्टा भन्दा बढी समय काममा लगाउन नपाउने व्यवस्था गरिएको छ। त्यसैगरी नियमअनुसार बिदा नदिने औद्योगिक प्रतिष्ठानहरु पनि ४२ दशमलब ३७ प्रतिशत रहेको पाइएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए।
औद्योगिक श्रमिक प्रतिष्ठानहरुले श्रमिकहरुलाई न्यूनतम पारिश्रमिक नदिएको पनि जिफन्टको सो सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।