काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन विजयादशमीले प्रेरणा दिनुपर्ने बताएका छन्।
विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गर्ने वातावरण बनाउन सबै एकजुट हुनुपर्ने बताएका हुन्।
उनले समाजमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न पनि आग्रह गरेका छन्। परिवर्तनका लागि सोचसँगै व्यवहार बदल्न आवश्यक रहेको उल्लेख गर्दै उनले इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनतबाट विकृति हटाउन सकिने बताएका छन्।
विजयादशमीलाई असत्यमाथि सत्यको विजयका रूपमा व्याख्या गर्दै प्रधानमन्त्री शाहले दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको पौराणिक प्रसंग स्मरण गरेका छन्।
उनले विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन्। साथै, वर्षौँदेखि टाढिएका साथीभाइ र आफन्तसँग आत्मीयता साट्ने अवसरका रूपमा पनि यस पर्वको महत्त्व रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै विजयादशमी सद्भाव, एकता, सम्मान र मायासहित मनाउन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।