अभिनेता महेश त्रिपाठीले फिल्म ‘हल्कारा’बाट अन्तर्राष्ट्रिय अवार्डसमेत जिते। अवार्ड मात्र हैन, थुप्रै दर्शकको मन पनि जिते।
महेशले अभिनय गरेका ‘चपली हाइट ३’, ‘प्रसाद–२’ लगायतका फिल्ममा उनको भूमिकालाई दर्शकले रुचाएका थिए। उनको प्रमुख अभिनय रहेको फिल्म ‘हल्कारा’ ओस्कारका लागि नेपालबाट छनोट पनि भयो। अभिनेता महेशसँग गरेको दसैं कुराकानीको सम्पादित अंश उनकै शब्दमा प्रस्तुत गरेका छौँ।
दशैँ आएपछि कुनै काम नगरी रमाइलो गरी दिन बिताउन मन लाग्छ। स्कुल पढ्दा होमवर्क र नियमित पढाइ हुन्थ्यो। जब दशैँको माहोल हुन्थ्यो। आफू स्वतन्त्र भएँजस्तो लाग्थ्यो। त्योचाहिँ आफ्नै समय हो जस्तो लाग्थ्यो। उमेर बढ्दै गएपछि जिम्मेवारी बढ्दै जान्छन्। हामी आराम खोजिरहेका हुन्छौँ। दशैँमा त्यो आनन्दसहितको आराम मिल्दो रहेछ।
दशैँको रोमाञ्चकता काठमाडौं बसेर अनुभूत हुन्न। त्यसका लागि त घरै जानुपर्छ। घरमाथि एउटा मन्दिर छ। १० जना जति पूजारी त्यहीँ बस्छन्। कहाँ कहाँबाट दर्शनार्थीहरू पूजा गर्न आउँछन्। त्यो देख्दा दसैं आएको अनुभूत हुन्छ। खसी, च्याङ्ग्राहरू ल्याइरहेको दृश्य अनि गाउँमा पिङ मच्चाइरहेका मान्छे।
सानो छँदा नयाँ कपडा दशैँमा लगाउन पाउँदा खुसी हुन्थ्यौँ। तर नयाँ कपडा हाल्ने चलन खासै थिएन। स्कुलको ड्रेस नयाँ हुन्थ्यो। त्यही लगाएर मामाघर गइन्थ्यो।
मामाकहाँ जाँदा दक्षिणा पाइन्थ्यो। सोचेको भन्दा धेरै दक्षिणा पाउँदा खुसी भइन्थ्यो। सोचेको भन्दा कम हुँदा खिन्न भइन्थ्यो। मैले दशैँको दक्षिणा घरको खुत्रुकेमा जम्मा गरेको थिएँ। जम्मा ३ सय भएको थियो। त्यो पैसाले मैले कुखुरा किनेको थिएँ। किन्नुको कारण चाहिँ कुखुराले अण्डा दिन्थ्यो। चल्ला पार्थ्यो। ती ठूला भएर बेचेपछि पैसा हुन्छ भन्ने आशा हुन्थ्यो।
एक पटक दशैँमा म पिङबाट लडेर बेहोस भएको थिएँ। तर चोट चाहिँ लागेन। एकपटक लडे पनि पिङ खेल्न भने कहिल्यै छाडिएन।
विस्तारै उमेर बढ्दै गयो। ठूलो हुँदै गएपछि दशैँमा हुने रौनकता घट्दै गयो। पहिले जस्तो दशैँ रहेन जस्तो लाग्थ्यो। पछि सोचेँ, दशैँ सधैं उस्तै रहने रहेछ। हामी चाहिँ पहिला जस्तो हुने रहेछौँ। हामीले चाहिँ पहिलेजस्तो रमाइलो गर्न नसक्ने रहेछौँ। जिम्मेवारी बढ्दै गएपछि त्यो अनुभूति हामीमा कम हुने रहेछ।
दशैँमा म एक वर्ष चाहिँ दिल्लीमा थिएँ। त्यतिबेला घरको दशैँ खुब मिस गरेँ। एक वर्ष चाहिँ हजुरबा बित्नुभयो। त्यो वर्ष शोकमा बित्यो। दशैँ मनाइएन।
दशैँमा हामी मूल घरमा सबै दाजुभाइ जम्मा भएर टिका लगाउँथ्यौँ। हजुरबाले पालैपालो सबैलाई टीका लगाइदिनुहुन्थ्यो। हजुरबा बितेपछिका हरेक दशैँमा म उहाँलाई मिस गर्छु। उहाँ हुँदाजस्तो टीका कहिल्यै भएन।
-आर्काइभबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।