अछाम–अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा मंगलबार साँझ भएको भीषण आगलागीबाट प्रभावित पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
बुधबार बिहान सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले उक्त निर्णय गरेको हो।
प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगलागीबाट क्षति व्यहोरेका परिवार तथा व्यवसायीलाई मानवीय आधारमा प्रारम्भिक चरणमा ५० लाख रुपैयाँ सहयोग स्वरूप उपलब्ध गराइने जानकारी दिए।अन्य राहत र व्यवस्थापनमा पनि प्रदेश सरकारले चासो दिएको मुख्यमन्त्री शाहको भनाइ थियो।
जयगढ बजारमा भएको आगलागीबाट प्रभावित परिवार र व्यवसायीको तत्काल राहतका लागि बान्नीगढी जयगढ गाउँपालिकामार्फत ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो, मुख्यमन्त्री शाहले भने । उनका अनुसार, पीडितलाई सहायता रकम वितरण गर्न पालिकाले स्पष्ट मापदण्ड तयार पार्नेछ।
त्यस्तै बान्नीगढी जयगढ गाउँपालिकाको पनि ६ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकले आगलागीबाट विस्थापित भएकाहरूलाई तत्काल राहत उपलब्ध गराउन ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ।
हिजो साँझदेखि लागि जयगढ बजारमा लागेको आगलागीबाट २७ वटा घर जलेका छन् । ३० घर प्रभावित भएका छन् भने सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ ।
मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो ।
साँझ ७ः २० बजेदेखि लागेको आगो मध्यरातमा नियन्त्रणमा आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।