विराटनगर- दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि संवेदनशील ७० वटा मतदान केन्द्रमा विशेष सुरक्षा नीति अपनाइने भएको छ।
संवेदनशील मतदान केन्द्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीको परिचालन गरिने भएको छ। यस्ता केन्द्रमा संम्वेदनशीलताको अवस्थामा थप सुरक्षाकर्मी परिचालन हुनेछन्।
मतदातालाई त्रसित पार्ने निर्वाचनमा विरोधी कार्यमा संलग्न व्यक्तिले विभिन्न गतिविधि गर्न सक्ने भएकाले त्यसलाई रोक्न प्रहरीले विशेष सुरक्षा नीति अपनाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए।
एक हप्ताको अवधिमा प्रहरीले चुनाव विरोधी गतिविधिमा संलग्न १४ जनालाई मोरङको विभिन्न स्थानबाट पक्राउ गरेको छ। मोरङमा ३ हजार १५६ म्यादी प्रहरी र नेपाल प्रहरीलाई विभिन्न मतदान स्थलको अवस्था हेरेर परिचालन गरिने बताइएको छ।
कुनै ठाउँमा शंकास्पद वस्तु फेला परेमा प्रहरीलाई तत्काल खबर गर्न सर्वसाधारणलाई आग्रह गर्दै प्रमुख बिसीले बम निष्क्रिय पार्न नेपाली सेना र प्रहरीको टोली तयारी अवस्थामा रहेको बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।