बैतडी- मंसिर १० मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बैतडीका ३ वटा मतदानस्थललाई अतिसंवेदनशील र ३८ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ।
जिल्ला सुरक्षा समितिले मतदान केन्द्र र मतदानस्थलको भौगोलिक, सामाजिक लगायतका अवस्था हेरेर श्रेणी विभाजन गरेको प्रजिअ सिद्धराज जोशीले जानकारी दिए। पुरचौडी नगरपालिका–३ मा रहेको न्वादेउ आधारभूत विद्यालय केन्द्र, पुरचौडी नगरपालिका–४ मा रहेको पहरोल मावि केन्द्र र खेती मावि तल्लादेही केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ। न्वादेउ आधारभूत विद्यालय केन्द्र आसपासमा स्थानीय तहको निर्वाचनका बेला बम विस्फोट भएको थियो।
यस्तै, ३८ वटा मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ। बैतडीमा आगामी निर्वाचनका लागि १२० वटा मतदानस्थल र १८२ वटा मतदान केन्द्र तोकिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।