काठमाडौं– गरिमा विकास बैंकको ११ औं वार्षिकोत्सवमा न्यानो कपडा वितरण गरेको छ।
आज पशुपतिमा आयोजित एक कार्यक्रममा सो क्षेत्रमा मागेर तथा सडकमै जिविकोपार्जन गर्न बाध्य भएका १ सय ६० जनालाई ज्याकेट वितरण गरिएको हो।
बैंकले पशुपति क्षेत्र विकास कोषको सहकार्यमा प्रतिव्यक्ति एउटा ज्याकेट वितरण गरेको हो।
बैंकले सामाजिक उत्तरदायित्व निभाउँदै न्यानो कपडा वितरण गरेको बैंकका कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए। ‘बैंकको वार्षिकोत्सवको अवसर हामीले यो कार्यक्रम गरेका हौं,’ उनले भने, ‘आजै पाल्पा र स्याङ्जा सीमानामा पर्ने राम्दीधाम, स्याङ्जाको पाखीचौर, म्याग्दीको गलेश्वर र तनहुँको देवघाट क्षेत्रका बृद्धाबृद्धालाई कपडा वितरण गरेका छौं।’
उनले आजै देशभर ३७५ वटा न्यानो कपडा वितरण गरेको बताए।
त्यस्तै, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश कुमार उप्रेतीले बैंकको यस किसिमको सहयोगले पशुपति क्षेत्रलाई उत्कृष्ट बनाउन सहयोग पुग्ने भन्दै बैंकलाई धन्यवाद दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।