नयाँ संविधान जारी भएपछि हुन लागेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको प्रचारप्रसारका लागि उम्मेदवारहरु दौडधुपमा व्यस्त छन् । पहिलो चरणमा मंसिर १० र दोस्रो चरणमा २१ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गरी चुनावी सभा र घरदैलो अभियान तिब्र रुपमा अघि बढिरहेको छ।
पहिलो चरणको निर्वाचन अन्र्तगत प्रचारको अन्तिम समय आज राति १२ बजे सम्मको अवधी निर्वाचन आयोगले निर्धारण गरेपछि उम्मेदवारहरुको दौडधुप ह्वात्तै बढेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा
देउवा कालीकोट पुगेका छन्। कालिकोटको म्यान्मामा हुने चुनावी सभालाई सम्बोधन गर्दै उनी आज बेलुका गृहजिल्ला डडेलधुरा फर्कने कार्यक्रम छ। पहिलो चरणको निर्वाचन हुने ३२ जिल्ला मध्ये एक हो, कालिकोट। प्रतिनिधि सभा निर्वाचनका लागि एउटा मात्र क्षेत्र रहेको सो जिल्लामा कांग्रेसका तर्फबाट भूपेन्द्रजंग शाही उम्मेदवार छन्। वाम गठबन्धनका तर्फबाट दुर्गबहादुर शाही मुख्य प्रतिस्पर्धीको रुपमा छन्। आफ्नो गृह जिल्लामा दोस्रो चरणमा निर्वाचन हुने भएकाले पहिलो चरणको निर्वाचन हुने हिमाली जिल्लामा सम्बोधन गर्न प्रधानमन्त्री देउवा कालीकोट पुगेका हुन्।
केपी शर्मा ओली
एमाले अध्यक्ष केपी शर्मा ओली आज तीन जिल्लाका चुनावी सभामा सहभागी हुँदैछन्। बिहान सुर्खेतमा रहेका ओली केही बेरमा दैलेख हुँदै बैतडी पुग्ने कार्यक्रम छ। दैलेखमा एमालेका राजबहादुर बुढाक्षेत्री छन् भने उनलाई शिवराज जोशीले चुनौती दिइरहेका छन्। दैलेखमा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुँदैछ। ओलीले साँझ डडेल्धुराको चुनावी सभालाई सम्बोधन गर्ने छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्रमा पुगेर उनले माओवादीका उम्मेदवार खगराज भट्टलाई जिताउन भोट माग्नेछन्।
पुष्पकमल दाहाल ‘प्रचण्ड’
वाम गठबन्धनका अर्का प्रमुख नेता माओवादीका अध्यक्ष पुष्पकमल दाहालको भने बिहिबार कुनै पनि चुनावी सम्बोधन कार्यक्रम छैन। छोरा प्रकाश दाहालको आकस्मिक निधनपछि उनी आफ्नो निबास लाजिम्पाटमा शोकसभामा सहभागी हुने छन्। आइतबार निधन भएका छोरा प्रकाशको सम्झनामा दाहाल निबास लाजिम्पाटमा आज हुने श्रद्धाञ्जली सभामा सहभागी भएर उनी काठमाडौंमै बस्ने छन्। पहिलो चरणको निर्वाचनपछि दोस्रो चरणमा भने उनी चुनावी सभामा सहभागी हुने छन्।
गगन थापा
नेपाली कांग्रेसका युवा नेता गगन थापा पनि चुनावी अभियानमा आफ्नो क्षेत्र बाहेक अन्य नेताहरुको क्षेत्रमा मत माग्न व्यस्त छन्। केही दिन पहिले गोरखा पुगेर नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईलाई मत मागेका थापा अन्तिम दिन आज नुवाकोट पुगेका छन्। ससुरा तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र पूर्व अर्थमन्त्री डा रामशरण महतको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम थापाको तय भएको छ। युवाहरुमाझ चर्चित थापालाई सम्बोधन गराएर दुवै उम्मेदवारहरु युवा मत आफ्नो पक्षमा पार्ने प्रयासमा छन्। दुई क्षेत्र रहेको नुवाकोटमा यस पटक केसीलाई एमालेका नारायाण प्रसाद खतिवडा र डा महतलाई माओवादीका हितबहादुर तामाङले चुनौती दिइरहेका छन्।
रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडले पनि पछिल्ला दिनहरुमा आफ्नै निर्वाचन क्षेत्र तनहुँमा प्रचार गर्न व्यस्त छन्। मंसिर २१ गते निर्वाचन हुने भए पनि उनी सबै मतदाताको घरदैलोमा पुग्न व्यस्त छन्। केही दिन अघि गोरखा र लमजुङको चुनावी सभालाई सम्बोधन गरेर फर्केका पौडल अहिले आफ्नै क्षेत्रमा केन्द्रित भएका हुन्। यस पटक वाम एकता भएको र पार्टीभित्र उम्मेदवारी दर्ताको समयमा विवाद भएकाले पौडल आफ्नै क्षेत्रमा केन्द्रित भएका हुन्। पौडलले यसपटक आफ्नो चुनावी प्रतिस्पर्धीको रुपमा एमालेका केदार सिग्देललाई पाएका छन्।
जो आफ्नै क्षेत्रमा केन्द्रित छन्
बाबुराम भट्टराई
नयाँ शक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराई यसपटक आफ्नै चुनावी क्षेत्र गोरखामा मात्र सिमित भएका छन्। पहिलो चरणमा हुने निर्वाचनमा माओवादी केन्द्रका प्रभावशाली नेता नारायाणकाजी श्रेष्ठसँग चुनावी प्रतिस्पर्धा निश्चित भएकाले पनि उनी उक्त क्षेत्रबाट बाहिर निस्केका छैनन। अन्तिम दिन पनि उनी गोरखाका गाउँगाउँ घुमिरहेका छन्।
कमल थापा
राप्रपाका अध्यक्ष कमल थापा यस पटक मकवानपुर क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धामा उत्रेका छन्। नेपाली कांग्रेससँग चुनावी गठबन्धन गरेका थापा अन्य क्षेत्रमा पुगेर मत माग्न भ्याएका छैनन्। आफ्नो क्षेत्रमा दोस्रो चरणमा निर्वाचन हुने भए पनि पहिलो चरणमा हुने कुनै पनि जिल्लामा थापा चुनावी भाषण गर्न गएका छैनन्। पहिलो संविधानसभाको चुनावमा पराजित भएका र दोस्रोमा समानुपातिक तर्फ बसेका थापालाई यस पटक जित्नैपर्ने चुनौती भएकाले अन्य क्षेत्रमा गएका छैनन्। थापा एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालसँग चुनावी मैदानमा छन्।
पशुपति शम्शेर राणा
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा पनि यसपटक आफ्नै निर्वाचन क्षेत्रमा मात्र केन्द्रित छन्। पहिलो र दोस्रो संविधान सभामा पराजित भएकाले उक्त परिणाम उल्टाउन उनी कम्मर कसेर आफ्नै क्षेत्रमा खटिएका छन्। दु्ई क्षेत्र रहेको सिन्धुपाल्चोकको दुई नम्बर क्षेत्रमा उनी उम्मेदवार भएका छन्। उनलाई एमालेका शेरबहादुर तामाङले टक्कर दिने देखिएको छ। राणा आफू मात्र नभई चर्चित नायिका रेखा थापा तथा दुई छोरीहरु उर्वशी र देवयानीको साथ लिएर चुनावी अभियानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।