गोरखा- भनिन्छ, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हुँदैन। गोरखाको निर्वाचन हेर्ने हो कुनै बेलाका सहकर्मीहरु यतिबेला चुनावी 'शत्रु'का रुपमा मैदानमा होमिएका छन्। कांग्रेस लगायत लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई र एमाले-माओवादीसहित वाम गठबन्धनबाट माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठका लागि यो निर्वाचन 'जुँगाको लडाइँ' झैं बनेको छ। यी दुईको उम्मेदवारीका कारण गोरखा क्षेत्र नम्बर २ ले धेरैको ध्यान खिचेको छ।
पहिलो चरणअन्तर्गत मंसिर १० गते ३२ जिल्लासहित गोरखामा पनि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ।
गोरखा–२ को यो पटकको निर्वाचन नारायणकाजीका लागि भन्दा बाबुरामका लागि पेचिलो आँकलन गरिएको छ। किनभने, हारको नतिजा पोल्टामा पर्यो भने उनको राजनीतिक भविष्य खतरामा पर्ने धेरैको अनुमान छ।
मतदाता भड्किने डर
गोरखा-२ मा कांग्रेसको समर्थन पाए पनि बाबुरामले जित्नका लागि माओवादी आस्थाको भोटलाई नै निर्णायक मानेका छन्। कांग्रेसको पूरा मत आफ्नो पक्षमा नआउने र जित्ने निर्णायक भोट माओवादी आस्थाकै हुने उनको बुझाइ छ। आफ्नै आदर्शमा हिजो माओवादी बनेका र आजको दिनमा आफूसँग रिसाएका माओवादी आस्थाको भोट तान्नु उनका लागि त्यति सहज छैन। यसका लागि बाबुराम निकै तौलेर मात्रै बोलिरहेका छन्। उनी कांग्रेसी मत नभड्किने गरी आफूप्रति उदार माओवादी आस्थाका भोट पक्का गर्न सक्रिय छन्। वाम गठबन्धनमा पेल्ने काम भएपछि कांग्रेससँग चुनावी तालमेल गर्नु आफ्नो बाध्यता भएको सर्कुलेसन माओवादीमा आस्था भएका, तर तटस्थ बसेका प्रभावशाली मतदातामाझ गर्दै हिँडेका छन्।
नारायणकाजी पहिलो संविधानसभामा माओवादी पार्टीमा थिएनन्। उनी २०६५ मा माओवादी पार्टीमा एकता प्रकियाबाट आएका थिए। २०७० सालमा हेटौंडामा रूपचन्द्र विस्टको क्षेत्रबाट निर्वाचन लडे तापनि उनले निराशजनका हार बेहोर्नुपर्यो। उनलाई गोरखा-२ जित्न सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिकामा कम मत आउने सम्भावना रहेको छ।
कसको सम्भावना?
बाबुराम २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा गोरखाबाट अत्यधिक मत ल्याई विजयी बनेका व्यक्ति हुन्। त्यसपश्चात् उनी अर्थमन्त्री र प्रधानमन्त्रीसमेत बने। बाबुराम गोरखाको प्रतिनिधि बनेको समयमा जिल्लामा राम्रै विकास भएको स्थानीय बताउँछन्।
बाबुरामले आफू प्रधानमन्त्री वा अर्थमन्त्री हुँदा महिनाको एकपटक गोरखाली जनताको घरमा गएर सँगै बस्ने र सुख दुःखका गफ गर्ने प्रवृतिको समेत विकास गरेका थिए।
अर्थमन्त्री हुँदा देशको आर्थिक वृद्धिदर उच्च बनाउनु, प्रधानमन्त्री हुँदा काठमाडौंको सडक विस्तार तथा नेपालमै बनेको मुस्ताङ गाडी चढेर निकै चर्चा कमाएका उनले राष्ट्रिय गौरवका योजनाहरु समेत सुरु गरे। त्यस्तै भारतसँग व्यापार सम्झौता (बिप्पा) समेत गरेका थिए। त्यसखबत उनलाई पार्टीका तत्कालीन सहकर्मी नारायणकाजीले निकै विरोध जनाएका थिए।
२०७० मा दोस्रो संविधानसभाको निर्वाचनमा गोरखा १ बाट प्रतिनिधि बनेका बाबुरामले संविधान निर्माणपछि संसद पद परित्याग गरेका थिए। नारायणकाजी भने पहिलो पटक यहाँबाट चुनाव लडिरहेका छन्।
२०६४ को निर्वाचनमा बाबुरामले सर्वाधिक मत प्राप्त गरेको रेकर्ड निर्वाचन आयोगमा छ। उनको व्यक्तिगत प्रभावभन्दा पार्टीको प्रभावका कारण उनी यतिबेला गोरखाबाट उदाउने प्रयास गरिरहेका छन्।
जुँगाको लडाइँ
स्थानीय चुनावमा खसेको मतका आधारमा विश्लेषण गर्दा गोरखा २ मा नयाँ शक्तिको भन्दा माओवादी केन्द्रको नै बढी मत देखिन्छ।
बाबुराम नै चुनाव लड्ने भएपछि उनले व्यक्तिगत भोट समेत तान्ने सम्भावना हुन्छ।
तर, राष्ट्रिय राजनीतिमा अहम् भूमिका खेल्दै आएका पूर्वउपप्रधानमन्त्री नारायणकाजी नै चुनाव लड्न गइसकेपछि उनले पार्टीको संस्थागत भोटका साथै व्यक्तिगत भोटसमेत तान्न सक्नेछन्। यो स्थितिमा एउटै चुनाव क्षेत्रमा भिड्नु दुवैका लागि जोखिमपूर्ण छ।
क्षेत्र नम्बर २ अन्तर्गत गोरखा नगरपालिकाका वडा नं. ८, ९, १०, ११, १२, १३ र १४, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, सुलीकोट गाउँपालिका र अजिरकोट गाउँपालिका रहेका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि यहाँ ९० हजार ८ सय १५ मतदाता छन्।
स्थानीय तहको मतपरिणमलाई हेर्दा पनि यो क्षेत्रमा दुई पक्षबीच निकै टक्कर हुने पक्का छ। स्थानीय नतिजा अनुसार कांग्रेसको १६ हजार ६६२ मत छ भने नयाँ शक्तिको पक्षमा ७ हजार ६१०, राप्रपाको ४६२ मत छ। यसको अर्थ बाबुरामको पक्षमा २४ हजार ७३४ मत रहेको देखिन्छ।
त्यस्तै यो क्षेत्रमा माओवादीको १७ हजार ८४५ मत छ भने एमालेको ७ हजार ५९२ मत रहेको छ। यो जोड्दा नारायणकाजीको पक्षमा २५ हजार ४३७ मत हुन आउँछ। स्थानीय तहमा खसेको मतलाई आधार मान्ने हो भने नारायणकाजी ७०३ मतले अगाडि छन्।
स्थानीय तहको निर्वाचनपछि थपिएका मतदाताको छनोटले पनि मतपरिणाम कसको पक्षमा आउँछ भनेर भन्न सक्ने अवस्था देखिँदैन।
पार्टीगत आस्थाका आधारमा भन्दा पनि उनीहरुको व्यक्तित्वप्रतिको ‘लभ-हेट’ले मत बाँडफाँट हुन सक्छ। गोरखा-२ का जनताले व्यक्तित्व रोज्लान् वा पार्टी, त्यो त नतिजाले देखाउनेछ। तर, कडा प्रतिस्पर्धा भने अपेक्षित नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।