उर्लाबारी, मोरङ- पूर्वी मोरङमा रहेका उपभोक्ताले विद्युत् महशुल तिर्न अब नेपाल विद्युत् प्राधिकरण उर्लाबारी वितरण केन्द्रमै गएर लाइन बस्नुपर्ने बाध्यता हटेको छ।
उपभोक्ताले घरमै बसेर अनलाइन प्रविधिबाट विद्युत् महशुल तिर्न सक्ने भएका छन्। नेपाल विद्युत् प्राधिकरण उर्लाबारी वितरण केन्द्रका प्रमुख दिगम्बर यादवका अनुसार बैंकमा गएर वा बैंकको अनलाइन प्रविधिमार्फत विद्युत् महशुल बुझाउन सकिने भएको हो।
अनलाइन प्रविधिबाट विद्युत् महशुल बुझाउन सकिने सेवा प्राधिकरणले यही मंसिर ४ गतेबाट सुरु गरेपछि उपभोक्ता हर्षित भएका छन्। यस्तो महशुल महालक्ष्मी विकास बैंक, ई–सेवा प्रालि, प्रभु बैंक, सिएफएस रेमिट प्रालि, पेप्वाइन्ट, प्रालि, सिटी एक्सप्रेस, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाबाट तिर्न सकिनेछ।
यस्तो महशुल किओस्क, मोबाइल एप र ई–बैंकिङ प्रणालीबाट पनि तिर्न सकिनेछ। उर्लाबारी वितरण केन्द्रअन्तर्गत उर्लाबारी नगरपालिकासहित पथरी शनिश्चरे नगरपालिका, रतुवामाई नगरपालिका र मिक्लाजुङ गाउँपालिका क्षेत्रमा ३५ हजार बढी उपभोक्ता छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।