ओखलढुंगा- ओखलढुंगाको सदरमुकामा बस पार्किङ गर्ने ठाउँ नहुँदा सवारीसाधन सडकमै राख्नुपर्ने अवस्था छ।
पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भोट माग्न जाने नेतालाई त्यहाँका मतदाताले एउटा व्यवस्थित बसपार्क बनाउने शर्तमा मात्र मत हाल्ने सुनाए।
सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका मञ्जु बाँनियाले जुन नेताले बसपार्क बनाउने योजना ल्याउँछ उनैलाई मत दिने बताइन्। उनी बसपार्ककै छेउमा चिया पसल गर्छिन्। व्यवस्थित बसपार्क नहुँदा उनको चियापसमा आउन जान ग्राहकलाई अप्ठ्यारो छ।
भोट माग्न गएका प्रतिनिधिसभाका उम्मेदवार यज्ञराज सुनुवारसँग बाँनियाले गुनासो गरिन्, 'गरी खान पनि नपाउने, चिया पसलकै अगाडि बस आएर रोकिन्छ, ग्राहकलाई आउन जानै गाह्रो छ।'
जिल्ला सदरमुकामा अहिलेसम्म बसपार्क छैन। बसपार्क नहुँदा सवारीसाधन बाटोबाटोमा राख्नाले अरु सवारीसाधनलाई पार हुन र सर्वसाधारण आवतजावत गर्न कठिनाइ हुन्छ।
बानियाँ मात्र हैन, सोही नगरपालिकाका–१२ का गोपाल बज्राचार्यको भनाइ पनि उस्तै छ। 'मतदाताको मर्मलाई बुझेर जिल्लामा बसपार्क बनाउने, गाउँगाउँसम्म सडक विस्तार गर्ने नेतालाई हाल्छु,' उनले भने।
वाम गठबन्धनको चुनावी प्रतिबद्धतापत्रमा सिद्धिचरण नगरपालिकाभित्र दुई वर्षमा व्यवस्थित बसपार्क निर्माण गर्ने उल्लेख छ। वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार यज्ञराज सुनुवारले भने, 'एउटा व्यवस्थित बसपार्क बनाउँछु, त्यो योजनाभित्रै छ।'
लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार रामहरि खतिवडाले पनि बसपार्क बनाउने आफ्नो पनि कार्ययोजना भएको बताए। सदरमुकाम ओखलढुंगास्थित रमाइलो डाँडामा बसपार्क बनाउने भनेर कामसमेत अघि बढिसकेको भए पनि नेपाली सेनाको जग्गा भएको हुँदा बसपार्क बन्न सकेन। अब उपयुक्त जग्गा खोजेर एउटा व्यवस्थित बसपार्क बनाउनु जरुरी छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।