काठमाडौं– दिल्ली क्यापिटल्स आइपिएल क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ। दिल्लीले आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई १६ रनले पराजित गरेर प्लेअफमा स्थान पक्का गरेको गरेको हो। दिल्ली सन् २०१२ पछि पहिलो पटक प्लेअफमा पुगेको हो। हारपछि बैंग्लोरको प्लेअफमा पुग्ने सम्भावना गणितीय मात्र बाँकि छ।
पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेटको क्षतिमा १ सय ८७ रन जोड्यो। उसका लागि शिखर धवनले ५० रन र कप्तान श्रेयर इयरले ५२ रनको योगदान दिए। रुथरफोर्डले १३ बलमा नटआउट २८ रन र अक्षर पटेलले ९ बलमा नटआउट १६ रन जोडे। बलिङमा बैंग्लोरका युजभेन्द्र चाहलले २ विकेट लिए।
१ सय ८८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन मात्र जोड्न सक्यो। उसका लागि मार्कोस स्टोइनिसले नटआउट ३२ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। पार्थिव पटेलले २० बलमा ३९ रन र कप्तान विराट कोहलीले २३ रनको बटुले।
बलिङमा दिल्लीका कागिसो राबाडा र अमित मिश्राले २–२ विकेट लिए। नेपालका लेग स्पिनर सन्दीप लामिछाने भने महँगो सावित भए। उनले ३ ओभरमा ३६ रन दिँदा ३ चौका र २ छक्का बेहोरे।
जितसँगै दिल्ली १२ खेलबाट १६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको चेन्नई सुपरकिंग्सको पनि १६ अंक छ। पुछारको बैंग्लोरको १२ खेलबाट ८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।