सुरुङ्गा- झापाको शिवसताक्षी नगरपालिका–५ भेलामुनिमा चितुवाको आक्रमणमा परी प्रहरी हवल्दार युवराज थापासहित चार जना घाइते भएका छन्।
घाइते हुनेमा प्रहरी हवल्दार थापासहित शिवसताक्षी–५ का ४५ वर्षीया गीता खरेल शिवाकोटी, ४० वर्षीय देवलाल राजवंशी र ४५ वर्षीय बुद्धसिंह ताजपुरिया रहेका छन्।
शिवाकोटीलाई धान काट्ने क्रममा बुधबार साँझ चितुवाले आक्रमण गरेको थियो। सो क्रममा लखेट्ने क्रममा राजवंशी र तापुरिया पनि चितुवाको आक्रमणमा परे।
चितुवाले आक्रमण गरेको जानकारी पाएपछि उद्धारका लागि पुगेको प्रहरीमाथि नै चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए।
घाइतेमध्ये प्रहरी हवल्दार थापालाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा ल्याइएको छ भने अन्य तीन जनालाई उपचारका लागि लाइफलाइन अस्पताल दमक पठाइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।