काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रि–बजेट छलफल नै नगरी सरकारले बजेट ल्याउन लागेको भन्दै आपत्ति जनाएको छ।
कांग्रेसको संसदीय दलको बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले संसदीय मर्मविपरीत प्रि–बजेट छलफल नगरी बजेट ल्याउन लागेको भन्दै आपत्ति जनाए।
‘पहिले प्रि–बजेट छलफल गरेर बजेट ल्याइन्थ्यो,’ उनले भने, ‘छलफलमा जनप्रतिनिधिहरूले आफ्नो धारणा राख्ने गर्नुहुन्थ्यो र उहाँहरूले सदनमा उठाएका विषय वस्तुलाई सम्बोधन गरेर नीति तथा कार्यक्रम ल्याइन्थ्यो। त्यसको फ्रेमवर्कमा बसेर बजेट ल्याइन्थ्यो र परम्परा पनि त्यही हो।’
नीति तथा कार्यक्रम ल्याएपछि गरिने छलफलको कुनै औचित्य समेत नहुने उनले बताए। ‘सोझै नीति र कार्यक्रम आएपछि सरकारले त्यही फ्रेमवर्कमा बसेर बजेट ल्याउँछ,’ खाँडले भने, ‘त्यसमा छलफल गर्नुको औचित्य हुन्न। अहिले त्यसलाई पूरा नगरी बजेट ल्याउने तयारी सकारले गरेको हामीले पायौं। यो बिल्कुलै सदनलाई बाइपास गर्न खोजिएको हो।’
कांग्रेसले सदनमा यसको प्रतिवाद समेत गर्ने बताए। ‘नेपाली कांग्रेस यसको प्रतिवाद गर्दछ, किनभने यो संसदीय प्रचलन र संसदवाद विरुद्धको काम हो,’ उनले भने।
भोलिदेखि संसद्को बजेट अधिवेशन सुरु हुँदै छ। यसलाई लक्षित गर्दै आइबार कांग्रेसले सिंहदरबारमा संसदीय दलको बैठक बोलाएको थियो।
सरकाले प्रिबजेट छलफल समेत नगरि २० गते नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्न लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।