काठमाडौं– शिक्षा विभागले कक्षा ८ को जिल्लास्तरीय परीक्षा अब स्थानीयस्तरबाटै सञ्चालन गर्न क्षेत्रीय निर्देशनालय र जिल्ला शिक्षा कार्यालयलाई पत्र पठाएको छ।
विभागको उक्त पत्रपछि अब हुने शैक्षिक सत्रको परीक्षा स्थानीय तहले सञ्चालन गर्नेछन्। नयाँ संविधानपछि तीन प्रकारको सरकारको परिकल्पना गरिएको थियो। एक तहको सरकार स्थानीय निकाय हुने भनेर संविधानमा लेखिएको छ।
स्थानीय तहलाई १२ कक्षासम्म सञ्चालन गर्ने र पाठ्यक्रम तय गर्ने अधिकार संविधानले दिएको छ। यसअघि जिल्लास्तरीय परीक्षाको रुपमा सञ्चालन गरी प्रमाणीकरणको कार्य जिल्ला शिक्षा कार्यालयबाट हुँदै आएको थियो। विभागले सबै जिल्ला र ५ वटै क्षेत्रीय शिक्षा निर्देशनालयलाई निर्देशन दिँदै अब सञ्चालन हुने परीक्षा स्थानीय तहबाटै गर्न भनेको हो।
स्थानीय सरकार सञ्चालन ऐन ०६४ जारी भइसकेको र उक्त ऐनले कक्षा आठको अन्तिम परीक्षा सञ्चालन, व्यवस्थापन तथा प्रमाणीकरण स्थानीय तहबाटै हुनुपर्ने व्यवस्था गरेकाले त्यसको कार्यान्वयन गर्न पत्र पठाएको हो। मंसिर ३ गते बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएपछि विभागले सबै जिल्लामा अनिवार्य लागू गर्न पत्र पठाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।